चारआली ।
मेचीनगर नगरपालिकाको पहलमा मेची राजमार्ग अन्तर्गत नगरको प्रमुख व्यापारिक केन्द्र चारआली खण्डमा ‘रियाभ रि–कन्सट्रक्सन’ को काम सुरु भएको छ । मंगलबार नगर प्रमुख विमल आचार्य तथा उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्त रुपमा निर्माण कार्य सुरु भएको जानकारी गराए ।
नगरपालिकाले निर्माणस्थलमा रहेका विद्युत तथा टेलिफोनका तार, खानेपानी विस्तारका लागि विछ्याइएका पाइपसहित रुख र विभिन्न बिरुवाहरुको व्यवस्थापन गरेर निर्माण स्थल खाली गरे लगत्तै डिभिजन सडक कार्यालय दमक झापाले निर्माणको काम सुरु गरेको हो ।
पूर्व पश्चिम लोकमार्गदेखि ८२ फिट छाडेर चारआली उत्तरतर्फ ५ सय ३५ मिटरसम्म ‘रियाभ रिकन्सट्रक्सन’को काम हुने डिभिजन सडक कार्यालय दमक झापाका इञ्जिनियर अनुप साउदेनले जानकारी दिए । २० मिटरसम्म कालोपत्रे चौडाइ र डेढ मिटर दुई साइडमा नाला हुने उनको भनाई छ ।
२०७८ जेठ ६ गते निर्माण कम्पनी समता कन्सट्रक्सन कम्पनी प्रालि बिर्तामोड झापासँग असार मसान्तसम्म्मा काम सक्ने सम्झौता भएपनि कोभिड–१९ लगायत अन्य कारणले समयमै निर्माण शुरु गर्न नसकेपछि अहिले समयअवधि थप गरेर निर्माण कार्य शुरु गरिएको समता कन्सट्रक्सन कम्पनी प्रालि बिर्तामोड झापाका प्रवन्ध निर्देशक मनोज उप्रेतीले जानकारी दिए ।
उपप्रमुख उप्रेतीले योजना सम्पन्न गर्न गुणस्तरमा ध्यान दिन निर्माण पक्षलाई सुझाव दिइन् । यसले ढल व्यवस्थापनमा पनि मद्घत पुग्ने छ । उनले सडक विस्तार भएपनि सवारीका साधन समेत अव्यवस्थित नहुने र अहिले अव्यवस्थितरुपमा रहेका विद्युत तथा टेलिफोनका तारहरु समेत व्यवस्थित हुने बताइन् ।
समयमै निर्माण कार्य सम्पन्न गर्न तथा निर्माण कार्यलाई सहज बनाएर निर्माण कम्पनीसँग समन्वय गर्न सुदर्शन बरालको अध्यक्षतामा ११ सदस्यीय र ‘रियाभ रि–कन्सट्रक्सन’ उपभोक्ता समिति निर्माण गरिएको कार्यवहाक अध्यक्ष सन्तोष न्यौपानेले बताए ।














