झापा ।
मेचीनगरका साप्ताहिक तथा पाक्षिक हाट बजारमा सर्वसाधारण तथा व्यापारीहरूको चहल–पहल बढ्न थालेको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइसर (कोभिड–१९) को रोकथाम तथा नियन्त्रण गर्न भन्दै सरकारले गरेको लकडाउन र स्थानीय प्रशासनले लगाएको निशेधाज्ञाका कारण बन्द रहेका साप्ताहिक तथा पाक्षिक हाट बजारमा सर्वसाधारण तथा व्यापारीहरूको चहल पहल बढ्न थालेको हो ।
ग्रामीण इलाकामा लाग्ने साप्ताहिक र छोटी बजारहरूमा पनि चलहपहल सुरु भएको छ । असोज १ गतेबाट अधिकांश व्यापार व्यवसाय सञ्चालन गर्न सरकार र स्थानीय प्रसाशनले छुट दिएसंँगै साप्ताहिक र पाक्षिक बजारमा चहल पहल बढेको व्यवसायीहरू बताउँछन् ।
कोरोना भाइसरको त्रास कम हुँदै गएको र नेपालीका ठूला चाड दशैँ तिहारसमेत नजिकिँदै गएकाले समेत बजारमा चहलपहल बढेको व्यवसायी लोकराज राईले बताए । उनले भने, ‘महिनौँदेखि बन्द रहेका हाट बजार ग्रामीण अर्थतन्त्रका मेरुदण्ड नै हुन्, यस्ता बजार लाग्न थाल्नु आफैमा राम्रो हो ।’ लकडाउनका समयमा थलिएको व्यापार व्यवसाय तंग्रिन छ कि भन्ने आशा दिलाएको छ ।


















