झापा ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । न्युजिल्यान्ड र पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–१० बस्ने रुपन्देही घर भएका ५१ वर्षीय राजकुमार भण्डारी र काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१२ बस्ने ओखलढुंगा घर भएका २९ वर्षीय सुरेश घिमिरे रहेका छन् ।
प्रहरीका अनुसार राजकुमार न्युजिल्यानड पठाइदिने भन्दै दुई जना पीडितबाट तीन लाख र सुरेशले पोर्चुगल पठाइदिने भन्दै एक जना पीडितबाट १८ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जानकारी दिएको छ ।

















