बिर्तामोड ।
झापाको विर्तामोडमा स्थापित सिम्रिक वचत तथा ऋण सहकारी संस्था सिम्रक साकोस झापाको मात्र नभई देशकै अब्बल र अग्रणी सहकारी संस्थाको रुपमा स्थापित छ । झापा, इलाम र मोरङ जिल्लालाई सेवाक्षेत्र बनाएर सञ्चालन भइरहेको सिम्रिक साकोस आर्थिक संकटको वर्तमान जटिल अवस्थामा पनि सदस्यको मन जित्दै सफलतापूर्वक अघि बढिरहेको छ ।
स्थानीयस्तरमा निम्न वर्गीय नागरिकको आर्थिक अवस्था सुदृढ बनाउने उद्देश्यका साथ स्थापित सिम्रिक साकोसले आफ्ना सदस्यलाई उद्यमशीलतासँग जोड्ने अभियानलाई तीव्रता दिएको छ । बचत तथा ऋणको कार्यमा मात्र सीमित नरही सहकारीले सदस्यलाई स्वरोजगार बनाउन र आयआर्जनको अवसर सिर्जना गर्न विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाको वार्षिक प्रतिवेदनले पनि स्पष्ट पारेको छ ।
सहकारीमार्फत सदस्यलाई कृषि, पशुपालन, लघु उद्यम, घरेलु उत्पादन, व्यापार–व्यवसाय प्रवद्र्धन तथा सीपमूलक तालिमसँग जोड्ने कार्य भइरहेको संस्थाले जनाएको छ । सदस्यको क्षमता र रुचिअनुसार उद्यम विकास कार्यक्रम सञ्चालन गरिँदै आएको छ । साथै, आवश्यक लगानी, तालिम तथा प्राविधिक सहयोग प्रदान गरेर सदस्यलाई आत्मनिर्भर बनाउने काम पनि संस्थाले गरिरहेको संस्थाका कार्यकारी कमल बहादुर बस्नेतले जानकारी दिए ।
सदस्यको आर्थिकस्तर उकास्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले विभिन्न योजना समेत संस्थाले अगाडि बढाएको जनाएको छ । यसरी उद्यममार्फत सदस्यको आम्दानी बृद्धि हुनुका साथै परिवारको जीवनस्तर सुधारमासकारात्मक प्रभाव परेको बताइन्छ ।
सिम्रिक साकोसले सदस्यलाई बचतकर्ता मात्र नभई सफल उद्यमीका रूपमा स्थापित गर्ने लक्ष्य राखेर आगामी दिनमा उद्यमशीलताका लागि थप कार्यक्रम सञ्चालन गर्ने संस्थाका कार्यकारी प्रमुख वस्नेत बताउछन् ।
समाज विकास र आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्दै आएको सिम्रिक साकोसले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई समेत प्राथमिकताका साथ निरन्तरता दिइरहेको छ । सदस्यको आर्थिक उत्थानसँगै समुदायको समग्र विकासमा योगदान पुर्याउने उद्देश्यले विभिन्न सामाजिक गतिविधि सञ्चालन गरिँदै आएको छ ।
सिम्रिक साकोसले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपन्न परिवारलाई सहयोग, रक्तदान कार्यक्रम, सरसफाइ अभियान तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै सामाजिक उत्तरदायित्व बहन गरिरहेको छ । यस्तो गतिविधिले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सहकारी र समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउन मदत पुग्ने संस्थाका अध्यक्ष सुवास भट्टराई बताउछन्।
सहकारी केवल आर्थिक कारोबारमा सीमित नभई समाज परिवर्तनको माध्यम पनि हो । समुदायको आवश्यकता पहिचान गरी सामाजिक क्षेत्रमा निरन्तर योगदान पुर्याउने उद्देश्यले आगामी दिनमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
संस्थाको संस्थाको यस्तो सक्रियताले समाजमा सहयोग, सद्भाव र सामाजिक एकताको भावनासमेत बलियो बन्दै गएको संस्थाका सदस्यहरुले बताएका छन् ।
संस्थाले आर्थिक वर्ष ०८२/०८३ मा सामाजिक उत्तरदायित्वअन्तर्गत ८ लाख ९८ हजार २४ रुपैयाँ खर्च गरेको छ । यसअन्तर्गत सामुदायिक विद्यालयहरुका विपन्न विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामग्री वितरण, भौतिक सामग्री वितरण, सुरक्षा निकायहरुलाई आवश्यक भौतिक सामग्री, विभिन्न आश्रममा खाद्यान्न तथा आवश्यक भौतिक सामग्री उपलब्ध गराएको प्रगति विवरणमा उल्लेख छ ।
यसैगरी, सिम्रिकले सदस्यप्रतिको सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै संस्थाले मृत्यु भएका आफ्ना सदस्यको ऋण मिनाहा गरेको छ । सदस्यको परिवारलाई आर्थिक भार कम गर्ने उद्देश्यले सहकारीले यस्तो निर्णय गरेको जनाएको छ ।
संस्थाले सदस्यको निधनपछि परिवार आर्थिक तथा मानसिक समस्यामा पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै ऋण मिनाहा गर्ने व्यवस्थालाई निरन्तरता दिइएको छ । सहकारीले आफ्नो नीति तथा नियमअनुसार आवश्यक प्रक्रिया पूरा गरी सदस्यको बाँकी रहेको ऋण रकम मिनाहा गर्ने गरिएको छ ।
यसअन्तर्गत संस्थाले आर्थिक वर्ष ०८२/०८३ को हालसम्म सदस्यको घातक तथा साधारण रोग उपचार, शल्यक्रिया, मृत्यु राहत, कर्जा मिनाहा, प्राकृतिक विपत्तिमा सहयोग, मानो–चामल/समवेदना, आर्थिक सहयोगलगायत साबुन, कपुरधूप, फिनेल बनाउने तालिक एवम् सदस्य भ्रमण कार्यक्रममा दुई करोड चार लाख ६३ हजार ६७६ रुपैयाँ खर्च गरिसकेको कोषाध्यक्ष मेहरमान बिष्टले जानकारी दिए।
संस्थाले सदस्यको हितलाई केन्द्रमा राखेर विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै संस्थाका अध्यक्ष सुवास भट्टराईले आगामी दिनमा पनि सदस्यमैत्री कार्यक्रमलाई निरन्तरता दिइने बताए। सहकारीको यो कदमले सदस्य तथा स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ । सदस्यको दुःखमा साथ दिने सहकारीको कार्यको प्रशंसा पनि भइरहेको छ ।


















