झापा । 

युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस) बाट बाहिरिने आश्वासन दिएका २५ वटा म्यानपावर कम्पनीसँग लिखित निवेदन माग गरेको छ । सोमबार श्रम मन्त्रालयमा भएको त्रिपक्षीय छलफलमा २५ म्यानपावर कम्पनीका सञ्चालकहरूले मलेसियाको एफडब्लुसिएमएसमा आफ्नो कम्पनीको नाम दर्ता गरिएको विषयमा कुनै जानकारी नरहेको भन्दै उक्त पोर्टलबाट हट्ने प्रतिबद्धता जनाएका थिए । मन्त्रालयले एफडब्लुसिएमएसबाट नाम हटाउने कूटनीतिक प्रक्रियाका लागि २५ वटा म्यानपावर कम्पनीका सञ्चालक प्रत्येकको निवेदन आवश्यक हुने भन्दै कम्पनीको लेटरप्याडमा निवेदन माग गरेको हो ।

सोमबारको छलफलमा सहभागी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ले २५ व्यवसायीलाई उक्त निवेदनको एक प्रति संघलाई पनि दिन भनिएको बताए । मन्त्रालयलाई निवेदन बुझाउने समयसीमा नतोकिए पनि यथाशक्य छिटो पठाउनुपर्ने अध्यक्ष खत्रीले बताए । निवेदनको फम्र्याट संघको समन्वयमा तयार गरिने बताइएको छ । सोमबारको छलफलमा एसिया लिंक सर्भिसेस प्रालिका सञ्चालक मिलन कट्टेल, ट्रस्ट नेपाल ओभरसिज प्रालिका रविन गुरुङलगायत ३ म्यानपावर कम्पनीका सञ्चालक र अन्यका प्रतिनिधि छलफलमा सहभागी भएका थिए । मन्त्रालयले संघको समन्वयमा भएको छलफलको निष्कर्षअनुसार परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल अघि बढाउने मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए ।

श्रम मन्त्रालयले मलेसियाको एसडब्लुसिएमएस पोर्टलको ‘रिक्रुटमेन्ट एजेन्सी’मार्फत मलेसिया जाने नेपाली श्रमिकका लागि २५ वटा संस्थाहरूको सूची मान्य नहुने भन्दै पुरानो प्रणाली नै कायम हुनुपर्ने अडान सार्वजनिक गरिसकेको छ ।

छलफलमा सहभागी एसिया लिंकका सञ्चालक कट्टेलले एफडब्लुसिएमएसमा संलग्न हुन नचाहेको र उक्त प्रणालीबाट आफ्नो कम्पनीको नाम फिर्ता गराउन सरकारले दिने सबै निर्देशन निःशर्त पालना गर्ने प्रतिबद्धता जनाएको भन्दै सरकारले आफ्नो कम्पनी र सम्पत्तिको संरक्षण गर्नुपर्ने माग भने आफूले राखेको बताए । कट्टेलले मलेसियामा नयाँ प्रणाली लागू हुने, तर नेपाल अन्योलमा बस्ने अवस्थाले नेपालको आकर्षक श्रम गन्तव्य लामो समयका लागि बन्द हुनसक्ने खतरातर्फ सरकार तथा व्यवसायी सचेत हुनुपर्ने आफ्नो धारणा रहेको समेत बताए ।

छलफलमा सहभागी ट्रस्ट ओभरसिज नेपालका गुरुङले मलेसिया रोजगारीमा सिन्डिकेट हुनुहुँदैन भन्ने विषयमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, आम व्यवसायी र ट्रस्ट नेपालको समान धारणा रहेको भन्दै एफडब्लुसिएमएसबाट कम्पनीको नाम फिर्ताका लागि संघ र मन्त्रालयलाई जुनसुकै सहयोग गर्न आफू तयार रहेको बताएका छन्।