झापा । 

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले मलेसिया सिन्डिकेटविरुद्ध मंगलबार व्यवसायीको हस्ताक्षर अभियान सुरु गरेको छ । एसोसिएसनले मलेसियाको रोजगारीमा सिन्डिकेट देखिएको भन्दै त्यसविरुद्ध एकताबद्ध भई व्यवसाय र व्यवसायीको अस्तित्व, स्वतन्त्रता तथा नैसर्गिक अधिकार जोगाउने महाअभियान सुरु गरेको हो ।

व्यवसायी एक भएको अवस्थामा सिन्डिकेट परास्त हुने भन्दै एसोसिएसनले सिन्डिकेटविरुद्ध खबरदारी भेला तथा हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष रामप्रसाद गैरेले जानकारी दिए। भेला तथा हस्ताक्षर अभियान जारी छ ।

यसैगरी प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले तोकिएको समयमै स्पष्टीकरण पेस नगरी मञ्चको निर्णय अवज्ञा गरेको भन्दै तीन व्यवसायीको साधारण सदस्यता समेत समाप्त गरेको छ ।

मञ्च नेपालले मलेसियाको एफडब्लूसिएमएसमा नाम रजिस्टर्ड भएको सार्वजनिक भएपछि भदौ ७ गते २४ घण्टाभित्र स्पष्टीकरण माग गर्दै एसिया लिंक सर्भिसेस प्रालिका सञ्चालक मिलन कट्टेल, द रिभर ओभरसिज प्रालिका सञ्चालक रघुनाथ पुरी र ट्रस्ट नेपाल ओभरसिज प्रालिका सञ्चालक रबिन गुरुङलाई चौबीस घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न पत्राचार गरेको थियो ।

तोकिएको समयसीमाभित्र कुनै पनि संस्थाबाट स्पष्टीकरण वा जवाफ प्राप्त नभएको भन्दै कारबाही गरिएको मञ्चले जनाएको छ । तोकिएको समयभित्र स्पष्टीकरण पेस नगरी मञ्चको निर्णय तथा निर्देशनको अवज्ञा गरेको विषयलाई मञ्चले गम्भीरतापूर्वक लिँदै मञ्च नेपालको विधान तथा संस्थागत अनुशासनबमोजिम मञ्चसँग आबद्ध साधारण सदस्यता समेत समाप्त गर्ने तथा आवश्यक संस्थागत कारबाही गर्ने निर्णय गरेको मञ्चले जनाएको छ ।