झापा । 

भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५ सय ७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ४०, गोरखामा ४६, नवलपरासी पूर्वमा १५४, नवलपरासी पश्चिममा २७, तनहुँमा ३० र चितवनमा २३३ जनाको शव फेला परेको हो ।

अहिलेसम्म १ सय २९ विदेशी नागरिकसहित चार हजार ४ सय ५१ जनाको उद्धार गरिएको छ । त्यसमध्ये जलविद्युतको सुरुङबाट १ सय ९१ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । त्यस्तै बाढीमा परेर १ हजार ९२४ जना सम्पर्कविहीन छन् ।

नेपाल प्रहरीका २७, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका १५ जना सम्पर्कविहीन छन् । ५ सय १७ जना विदेशी नागरिक पनि सम्पर्क आएका छैनन् । ९५ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

खोज तथा उद्धारको लागि १५ हजारभन्दा धेरै सुरक्षाकर्मी खटिएका छन् । आज पनि खोज, उद्धार र राहत वितरणको कामलाई निरन्तरता दिइने सरकारले जनाएको छ । खोज त था उद्धारका लागि नेपाली सेना र निजी कम्पनीका गरी १६ वटा हेलिकोप्टर परिचालन गरिएको छ । तर जंगल र अप्ठ्यारो भूबनोट भएका ठाउँमा अलपत्र परेकाहरुको उद्धार हुन नसकेको गुनासो छ ।