मेचीनगर ।
मेचीनगर–९ झापास्थित समाज सुधार महिला समूहले तीज विशेष कार्यक्रम स्थगित गरेर बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ।
देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भइरहेका बेला समूहले तीज मनाउन छुट्याएको समय र खर्चलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने निर्णय गरेको हो। समूहले बाढीपीडितका लागि २१ हजार ५ सय रुपैयाँ सहयोग गरेको जनाएको छ।
समूहमा आबद्ध ४० जना महिला सदस्यले स्वेच्छिक रूपमा रकम संकलन गरी उक्त सहयोग जुटाएका हुन्। संकलित रकम शुक्रबार सरकारको सम्बन्धित खातामा जम्मा गरेर बाढीपीडितको राहतका लागि हस्तान्तरण गरिएको समाज सुधार महिला समूहकी अध्यक्ष संगीता थापाले जानकारी दिइन्।
अध्यक्ष थापाका अनुसार विपत्तिको समयमा तीजजस्ता व्यक्तिगत तथा संस्थागत उत्सवभन्दा पीडित नागरिकको पीडामा साथ दिनु महत्वपूर्ण भएकाले कार्यक्रम स्थगित गरी सहयोग गर्ने निर्णय गरिएको हो।
“तीज विशेष कार्यक्रमका लागि छुट्याएको समय र खर्चलाई यसपटक विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने निर्णय गर्यौँ। सानो भए पनि हाम्रो सहयोगले पीडित परिवारलाई केही राहत पुग्ने विश्वास छ,” अध्यक्ष थापाले भनिन्।
समाज सुधार महिला समूहले सामाजिक विकृति तथा विसंगतिविरुद्ध आवाज उठाउँदै महिला अधिकार, सामाजिक सचेतना र समुदायको हितका क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएको छ। महिलाको हक, अधिकार र सामाजिक सहभागिता अभिवृद्धिका लागि समूहले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको अध्यक्ष थापाले बताइन्।
विपत्तिका बेला सामाजिक संस्थाहरूले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने सन्देश दिँदै समूहले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका गतिविधिलाई निरन्तरता दिने जनाएको छ।
तीजको उत्सवलाई भन्दा विपत्तिमा परेका नागरिकको पीडालाई प्राथमिकता दिँदै गरिएको समाज सुधार महिला समूहको यो पहलले ‘उत्सवभन्दा मानवता ठूलो’ भन्ने सामाजिक सन्देश दिएको छ।


















