झापा । 

बाढीमा ज्यान गुमाउनेको संख्या ६ सय ७५ पुगेको छ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६ सय ७५ पुगेको हो ।  अझै दुई हजार ४९८ जना सम्पर्कविहीन रहेका राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म नदी किनारमा ६ सय ७५ जनाको शव भेटिएको छ ।

सबैभन्दा बढी चितवनमा २४६ जना, रसुवामा १३, नुवाकोटमा ५१, धादिङमा ४५, गोरखामा ५७, नवलपरासी पूर्वमा १६५, नवलपरासी पश्चिममा ६३ र तनहुँमा ३५ जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ ।  यसैगरी दुई हजार ४ सय ९८ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । सबैभन्दा बढी जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना सम्पर्कविहीन छन् । उनीहरूको खोजी भइरहेको प्राधिकरणले जनाएको छ ।

अहिलेसम्म ७ हजार ५१४ जनाको उद्धार भएको छ । जलविद्युतको सुरुङबाट २७९ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । खोज तथा उद्धारका लागि १८ हजारभन्दा वढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।