झापा ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले चार जना सदस्यलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन तथा निष्कासन गरेको छ ।
मलेसियाको एफडब्लुसिएमएसमा नाम रजिस्टर्ड भएको सार्वजनिक भएपछि गत भदौ ९ गते २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न माग गरिएकोमा तोकिएको समयभित्र स्पष्टीकरण प्राप्त हुन नआएको भन्दै एसोसिएसनले चार जना सदस्यलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन तथा निष्कासन गरेको हो ।
एसोसिएसनले संस्थाको विधान तथा प्रचलित कानुनी व्यवस्था, विषयको गम्भीरता, संस्थाको उद्देश्य, व्यवसायीहरूको पेशागत स्वतन्त्रता तथा संस्थाको मर्यादालाई मध्यनजर गर्दै एसोसिएसनको विधान २०६३ को दफा ८, ९ र १४ बमोजिम निलकुमारी घले, मोहम्मद जुनेद, जुबेर खान र सुरज केसीलाई संस्थाबाट साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरिएको जनाएको छ ।
यसअघि प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले पनि तोकिएको समयमै स्पष्टीकरण पेस नगरी मञ्चको निर्णय अवज्ञा गरेको भन्दै एसिया लिंक सर्भिसेस प्रालिका सञ्चालक मिलन कट्टेल, द रिभर ओभरसिज प्रालिका सञ्चालक रघुनाथ पुरी र ट्रस्ट नेपाल ओभरसिज प्रालिका सञ्चालक रविन गुरुङलाई कारबाही गरेको थियो ।


















