झापा। 

हालैको प्राकृतिक विपत्तिबाट प्रभावितहरूलाई राहत तथा पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय झापाली समाजले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। शनिबार समाजका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाईंको अध्यक्षतामा बसेको भर्चुअल बैठकले उक्त राहत रकम हस्तान्तरण गर्ने निर्णय गरेको महासचिव चिरन खवासले जानकारी दिए । 

विपत्तिका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै समाजले दुःखी परिवारजनमा हार्दिक सहानुभूति व्यक्त गरेको छ। यस कठिन घडीमा पीडितहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा निरन्तर ऐक्यबद्धता जनाउँदै साथमा रहने प्रतिबद्धतासमेत समाजले प्रकट गरेको छ।

अन्तर्राष्ट्रिय झापाली समाज संसारभर छरिएर रहेका झापालीहरूको साझा छाता संस्था हो। विश्वका ४० भन्दा बढी मुलुकहरूमा यसका राष्ट्रिय समितिहरू सक्रिय रहेका छन्। यसअघि पनि देश तथा गृहजिल्ला झापामा पर्ने हरेकजसो प्राकृतिक विपत्ति र संकटका बेला समाजले अग्रपंक्तिमा रहेर आर्थिक तथा भौतिक सहयोग पुर्‍याउँदै आएको छ।