• अभिषेक खतिवडा 

हल्दीवारी । 

झापा हल्दीबारी–५ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहले दुःखद प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकी विद्यार्थी स्व. आरती राजवंशीको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ। समूहले आइतवार हल्दीबारी गाउँपालिका–२ निवासी स्व. आरतीका बुबा प्रेमलाल राजवंशीको घरमै पुगेर परिवारलाई नगद १० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो।

गत फागुन २९ गते घटेको दुःखद प्राकृतिक विपत्तिमा परी १७ वर्षीया आरती राजवंशीको असामयिक निधन भएको थियो। हल्दीबारी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत आरती एसईई परीक्षाको अन्तिम तयारीमा जुटिरहेकै समयमा भएको उक्त दुःखद घटनाले परिवार, विद्यालय तथा सम्पूर्ण समुदायलाई स्तब्ध बनाएको थियो।

अकल्पनीय क्षतिपछि गहिरो शोकमा रहेको परिवारलाई थोरै भए पनि राहत, सहारा र आत्मीयता प्रदान होस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग उपलब्ध गराइएको हरियाली सामुदायिक वन उपभोक्ता समूहले जनाएको छ। समूहको यस सहयोगले दुःखको घडीमा पीडित परिवारप्रति समाजको साथ, सहानुभूति र मानवीय संवेदनाको उदाहरण प्रस्तुत गरेको छ।