बाह्रदशी ।
नेकपा (एमाले) बाह्रदशी गाउँ कमिटीको आयोजनामा बाह्रदशीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा ६० जना रक्तदाताले रक्तदान गरेका हुन् । बाढी तथा अन्य विपद्का कारण घाइते भएकाहरूका लागि रगतको आवश्यकता बढिरहेका बेला रक्तदान कार्यक्रम आयोजना गरिएको नेकपा (एमाले) बाह्रदशी गाउँ कमिटीका अध्यक्ष अनिल सापकोटाले जानकारी दिए।
कार्यक्रममा संविधानसभा सदस्य हरिबहादुर राजवंशी, नेपाल रेडक्रस सोसाइटी झापा शाखाका कोषाध्यक्ष ओमप्रकाश गौतम, राष्ट्रिय स्वतन्त्र पार्टी बाह्रदशीका सभापति सोमनाथ बजगाईँलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम सफल बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी बाह्रदशी र बाह्रदशी जेसीजले सहयोग गरेका थिए । व्यक्तिगत रूपमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा कार्यक्रमको अन्तिम समयसम्म सक्रिय रूपमा खटिएका पार्टीका विभिन्न जिम्मेवारीमा रहेका कार्यकर्ताप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ ।
रक्तदान कार्यक्रमका लागि स्थल व्यवस्थापन गर्नुका साथै पानी तथा जुस उपलब्ध गराएकोमा बाह्रदशी गाउँपालिका र गाउँपालिका उपाध्यक्ष शान्ता शिवाकोटी खरेलप्रति आयोजकले आभार व्यक्त गरेको छ । आयोजकले रगतको अभावका कारण कठिन अवस्थामा रहेका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आगामी दिनमा पनि मानवीय सेवाका यस्ता कार्यलाई निरन्तरता दिने जनाएको छ ।


















