झापा । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस) मार्फत गर्न खोजिएको एकाधिकारविरुद्धको अभियानलाई अन्तर्राष्ट्रियकरण गर्न आग्रह गरेको छ ।

संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ले एफडब्लुसिएमएसले गर्न खोजेको एकाधिकारविरुद्ध हालसम्म नेपालसहित बंगलादेश, पाकिस्तान, म्यानमार र श्रीलंका गरी पाँच मुलुकका रोजगार व्यवसायीहरू एक ठाउँमा उभिएको बताए । उनले भारत, कम्बोडिया, इन्डोनेसिया तथा एफडब्लुसिएमएसमा सूचीकृत नै नभएको फिलिपिन्सलाई पनि समर्थन गर्नका लागि पहल भइरहेको जानकारी दिए ।

यसअघि मलेसियामा श्रमिक पठाउने चार मुलुकका म्यानपावर व्यवसायीले संयुक्त विज्ञप्ति जारी गरेका थिए । मंगलबार श्रीलंकाको म्यानपावर व्यवसायी एसोसिएसनलाई समावेश गरी अर्को विज्ञप्ति जारी गरिएको छ ।

विज्ञप्तिमा यसअघि जस्तै मलेसियाको एफडब्लुसिएमएस प्रणालीमा सीमित संख्यामा निजी संस्था वा भर्ती एजेन्सीलाई विशेष वा प्राथमिकतामा पहुँच प्रदान गर्ने कुनै पनि व्यवस्थाले अन्य कानुनी रूपमा इजाजतपत्र प्राप्त एजेन्सीलाई प्रतिबन्धित वा बहिष्कार गर्दा निष्पक्ष प्रतिस्पर्धा, पारदर्शिता, समान अवसर तथा आप्रवासी कामदारहरूको अधिकार र हितका बारेमा गम्भीर चिन्ता उत्पन्न गर्ने उल्लेख छ ।