• अभिषेक खतिवडा 

हल्दीवारी। 

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि झापाको हल्दीबारी गाउँपालिकाले २५ लाख ८ हजार ७५० रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

विपत्तिमा परेका नागरिकको पीडामा स्थानीय सरकार, जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरू एकजुट हुँदै गाउँपालिकाले उक्त सहयोग रकम जुटाउने निर्णय गरेको हो।

गाउँपालिकाका अनुसार विपद् व्यवस्थापन कोषबाट २ लाख रुपैयाँ विनियोजन गरिनेछ। त्यसैगरी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरूबाट ८७ हजार ७३२ रुपैयाँ, गाउँपालिका मातहतका कर्मचारीबाट ७ लाख १५ हजार २४८ रुपैयाँ तथा सामुदायिक विद्यालयका शिक्षकहरूबाट १५ लाख ५ हजार ७७० रुपैयाँ सहयोग संकलन गरिनेछ।

यसरी विभिन्न क्षेत्रबाट प्राप्त योगदानसहित कुल २५ लाख ८ हजार ७५० रुपैयाँ भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग गरिने भएको हो। बाढीका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै आवश्यक उद्धार र पुनःस्थापनाका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले सहयोग रकम उपलब्ध गराउन लागिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपत्तिको यस कठिन घडीमा प्रभावित नागरिकलाई सबै पक्षबाट सहयोग र सहकार्यका लागि आह्वान गरेको छ।

भौगोलिक दूरीले दुःखलाई टाढा बनाउन सक्दैन। विपत्तिको घडीमा देखाइने साथ र सहयोग नै मानवताको वास्तविक परिचय हो। यही मानवीय भावनासहित हल्दिबारी गाउँपालिकाले भोटेकोशी बाढी प्रभावित नागरिकको पीडामा साथ दिएको हो।