झापा।

 विश्वका विभिन्न मुलुकमा रहेका झापालीहरु संगठित हुने अभियान अन्तर्गत युरोपियन मुलुक डेनमार्कका झापाली संगठित भएका छन् । अन्तर्राष्ट्रिय झापाली समाजको छातामुनि आवद्ध हुँदै झापाली समाज डेनमार्क गठन भएको छ । शनिवार कोपनहेगनमा भएको झापालीहरुको भेलाले रमेश विमलीलाई झापाली समाज डेनमार्कको अध्यक्षमा चयन गरेको छ । 

अन्तर्राष्ट्रिय झापाली समाजले डेनमार्कमा समिति गठनका लागि त्यहाँस्थित अगुवा युवा देव गिरीलाई संयोजकको जिम्मेवारी दिएको थियो । गिरीसहित स्थानीय सक्रिय युवाको अग्रसरतामा भएको भेलाले उक्त समिति गठन गरेको हो ।

अध्यक्षमा चयन भएका विमली त्यस क्षेत्रका प्रतिष्ठित मानिन्छन् । समितिको उपाध्यक्षमा प्रभाखर प्रसाईं, महिला उपाध्यक्षमा गायत्री भट्टराई पोखरेल, महासचिवमा भक्तराज खड्का, सचिवमा इन्द्रप्रसाद प्रसाईं, कोषाध्यक्षमा फुर्वाराज तामाङ, सहकोषाध्यक्षमा रिता भण्डारी चयन भएका छन् ।

त्यस्तै महिला संयोजकमा पुष्पा भट्टराई, महिला सहसंयोजकमा सरु खरेल शिवाकोटी, युवा संयोजकमा सागर मैनाली चयन भएका छन् । कार्यसमितिका सदस्यहरुमा सागर प्रसाईं, रोशन सिटौला, देवानन्द चौधरी ठाकुर, वेदराज गिरी र दीपक पुरी चयन भएका छन् । समितिको आइतवार बसेको बैठकले संस्थाको संरक्षकमा देव गिरीलाई चयन गरेको छ । त्यस्तै मनिष तिम्सिना, अशोकप्रसाद मिश्र र दीपक सापकोटा रहेको तीन सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।

अन्तर्राष्ट्रिय झापाली समाजको विधान बमोजिम झापाली समाज डेनमार्कले त्यहाँस्थित राष्ट्रिय समितिको रुपमा आफ्ना विविध गतिविधि अघि बढाउने बताइएको छ । झापालीबीचको एकता, सहयोग आदानप्रदान, सहकार्य र संस्थागत पारदर्शीलाई प्राथमिकतामा राखेर समितिले काम गर्ने बताइएको छ ।

लामो समयपछि डेनमार्कमा झापाली समाजको राष्ट्रिय समिति गठन भएकोमा अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाँई र महासचिव चिरन खवासले खुशी व्यक्त गर्दै नवगठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गरेका छन् । अध्यक्ष चम्लागाँईले अन्य मुलुकहरुमा पनि झापाली समाज गठनको प्रक्रिया अघि बढेको बताएका छन् ।