बिर्तामोड । 

झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको पूर्वेली ढुवानी सेवा प्रालिले उत्कृष्ट चालक तथा सह–चालकलाई सम्मान गर्दै भब्वय रुपमा विश्वकर्मा पूजा गरेको छ । विश्वकर्मा पूजाको अवसर पारेर आज (बिहीवार) बिर्तामोड–६ स्थित बुट्टाबारीमा आयोजित कार्यक्रममा तीन जना उत्कृष्ट चालक र एक जना सह–चालकलाई नगदसहित सम्मान गरेको हो । 

हिलिहाङ गाउँपालिका–२, पाँचथर स्थायी घर भएका नरेश मगरलाई उत्कृष्ट चालकका रूपमा नगद ३१ हजार र सोही स्थानका सुवास प्रसाईलाई नगद २१ हजार रुपैयाँसहित सम्मान गरेको छ । 

त्यसैगरी बिर्तामोड नगरपालिका–५ का तेजप्रसाद कडरियालाई चालक तथा ढुवानी व्यवसायको क्षेत्रमा लामो समयदेखि पुयाउँदै आएको योगदानको कदर गर्दै नगद ११ हजार रुपैयाँसहित सम्मान गरिएको छ । उत्कृष्ट सह–चालकका रुपमा सुजन हेम्वालाई नगद ५ हजारसहित सम्मान गरिएको छ । यसै बर्षदेखि प्रालिले सुरु गरेको सम्मान कार्यक्रमलाई आगामी बर्षहरुमा पनि निरन्तरता दिने प्रालिका अध्यक्ष निर्मलराज खत्रीले जानकारी दिए । 

व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै आएको प्रालिले  बिर्तामोड नगरपालिका–६ का १० वर्षीय साइमन हस्दा बोनम्यारोको समस्याबाट पीडित रहेको जानकारी पाएपछि उनको उपचारमा सहयोग पुन्याउने पवित्र भावनाका साथ ११ हजार रुपैयाँ सहयोग गरेको छ । 

पूर्वेली ढुवानी सेवा प्रालिका अध्यक्ष निर्मलराज खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगर उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि नगर उप–प्रमुख संग्रौला, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, प्रेस काउन्सिल नेपालका पूर्व सदस्य गणेश पोखरेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका निमित्त प्रमुख दिनेश खत्री, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपाने, मेची ट्रान्सपोर्ट एशोसिएसनका उपाध्यक्ष बेदराज तामाङ, सचिव पदम श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी रमेश तिवारीले गरेका थिए । 

प्रालिले कार्यरत चालक, सहचालक तथा कर्मचारीको आकस्मिक स्वास्थ्य उपचार तथा आपत्कालीन आवश्यकतामा सहयोग पुरÞ्याउने उद्देश्यले स्टाफ इमर्जेन्सी फण्ड सञ्चालनमा ल्याउने तयारीसमेत गरेको छ ।  यसबाट कर्मचारीको सुरक्षा, कल्याण तथा आपत्कालीन अवस्थामा सहयोग गर्ने प्रालिको प्रतिबद्धताले थप सुदृढ हुने विश्वास गरिएको छ । 

पूर्वेली ढुवानी सेवा प्रालि पूर्वी नेपाललाई आधार क्षेत्र बनाएर देशभर मालवाहक ढुवानी सेवा प्रदान गर्दै आएको स्थापित कम्पनी हो । विश्वसनीय, सुरक्षित र समयमै सेवा प्रदान गर्ने उद्देश्यका साथ कम्पनीका ४० भन्दा बढी मालवाहक ट्रक नियमित रूपमा ढुवानी कार्यमा परिचालित छन् । चालक, सहचालक तथा कर्मचारी गरी करिब एक सय जनाले प्रत्यक्ष रोजगारी पाइरहेको यो ढुवानी कम्पनी व्यवसायको क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै अघि बढिरहेको छ ।