झापा । 

चालु आर्थिक वर्षको भदौ महिनामा ६० हजार ४४ जना युवायुवती वैदेशिक रोजगारीमा गएका छन् । संस्थागत, सरकारी, व्यक्तिगत भिसा, पुनः श्रम स्वीकृति र वैधानिकीकरणमार्फत गरी भदौमा ६० हजार ४४ जना वैदेशिक रोजगारीमा गएका हुन् । त्यसमा संस्थागत अर्थात् म्यानपावर कम्पनीमार्फत ३ हजार १८७ महिलासहित २५ हजार ४१५ जना गएका छन् । व्यक्तिगत श्रम स्वीकृतिमा ९ हजार २२४, जिटुजीका माध्यमबाट ८६६ र पुनः श्रम स्वीकृतिमार्फत २४ हजार ४१५ जना गएका छन् ।

गत वर्षको भदौमा समग्रमा ६७ हजार ९७२ जना वैदेशिक रोजगारीमा गएकोमा म्यानपावर कम्पनीले ३३ हजार १ जना पठाएका थिए । यस वर्ष भदौमा म्यानपावर कम्पनीहरूबाट जानेको संख्या करिब ८ हजारले कम छ । संस्थागत अर्थात् म्यानपावर कम्पनीमार्फत सबैभन्दा धेरै युएईमा १० हजार ९७८ जना, दोस्रोमा रहेको मलेसियामा ५ हजार ३५९ जना, तेस्रोमा कतारमा २ हजार ८४९ जना र चौथोमा कुवेतमा १ हजार ९०५ जना गएका छन् ।

त्यसपछि क्रमशः ओमानमा ७९१ जना, साइप्रसमा ६७६ जना, बहराइनमा २९७ जना, जापानमा १८६ जना, जोर्डनमा ९३ जना, मौरिससमा ५९ जना, श्रीलंकामा १२ जना र माल्दिभ्समा ५ जना संस्थागत अर्थात् म्यानपावर कम्पनीमार्फत गएका छन् । सबै प्रक्रियाबाट युएई जानेको संख्या १८ हजार ४७७ रहेको छ । यो संख्या कुल वैदेशिक रोजगारीमा गएकाहरूको संख्याको करिब एक चौथाइ हो ।

साउनमा २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । यो परिमाण गत आवको सोही अवधिको तुलनामा २१।२ प्रतिशतले धेरै हो । गत आवको साउनमा १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो ।

यसैगरी भदौमा ५४ म्यानपावर कम्पनीले एक सय जनाभन्दा बढी श्रमिक वैदेशिक रोजगारीमा पठाएका छन् । अल स्किल इन्टरनेसनल ह्युमन रिसोर्स प्रा.लि. ८४५ जना कामदार वैदेशिक रोजगारीमा पठाउँदै सूचीको शीर्ष स्थानमा रहेको छ । प्याराडाइज इन्टरनेसनल प्रालि ५१३ जना कामदार पठाउँदै दोस्रो र रिलायवल म्यानपावर रिक्रुटमेन्ट प्रालि ३०३ जना कामदार पठाउँदै तेस्रो स्थानमा रहेका छन् ।