बिर्तामोड । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को आयोजना तथा बचत तथा ऋण सहकारी संघ झापाको  समन्वयमा बिर्तामोडमा बचत सहकारी बैंक स्थापनाका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

बचत तथा ऋण सहकारी संस्थाहरूको वित्तीय सबलीकरण, संस्थागत विकास तथा सहकारी क्षेत्रको दीर्घकालीन हितलाई ध्यानमा राख्दै बचत सहकारी बैंक स्थापना गर्ने विषयमा नेफ्स्कून केन्द्रिय समितद्वारा गठित कार्यदलसँग बचत संघ झापा, जिल्ला सहकारी संघलगायत सहकारी क्षेत्रका प्रतिनिधिहरूबीच बिहीवार छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा बचत सहकारी बैंक स्थापनाको आवश्यकता, सम्भावना, संरचना, पूँजी व्यवस्थापन, सदस्य संस्थाको भूमिका तथा सहकारी क्षेत्रको वर्तमान अवस्था र आगामी रणनीतिका विषयमा सहभागीहरूबीच विचार–विमर्श गरिएको नेफ्स्कुन झापाका अध्यक्ष युवराज गिरीले जानकारी दिए । 

सहकारी अभियानलाई थप व्यवस्थित, सुदृढ र आत्मनिर्भर बनाउन बचत सहकारी बैंकको स्थापना महत्वपूर्ण कदम हुन सक्ने धारणा सहभागीहरूले व्यक्त गरेका थिए।

नेफ्स्कुन केन्द्रीय उपाध्यक्ष तथा वैंक गठन कार्यदलकी संयोजक शान्ता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नेफ्स्कुन झापाका अध्यक्ष युवराज गिरीले गरेका थिए । कार्यक्रममा नेफ्स्कुन केन्द्रीय महासचिव धनश्याम अधिकारी, जिल्ल सहकारी संघ झापा अध्यक्ष प्रेमकुमार कोइरालालगायतले बत्ताहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन नेफ्स्कुनका केन्द्रिय सदस्य शालिकराम ढकालले गरेका थिए । कार्यक्रममा बचत संघ झापा, जिल्ला सहकारी संघ तथा विभिन्न सहकारी संघ–संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

 ।