मेचीनगर ।
झापा मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह बिट नं. १ को ३१ औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । समूह परिसरमा आयोजित साधारण सभा समूहका अध्यक्ष यामनाथ रेग्मीको अध्यक्षतामा सम्पन्न भएको हो । सभामा अध्यक्ष रेग्मीले समूहको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वन संरक्षण, व्यवस्थापन तथा उपभोक्तामुखी गतिविधिबारे जानकारी गराएका थिए ।
साधारण सभाले आगामी आर्थिक वर्षका लागि ७३ लाख ९३ हजार ८ सय ६९ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । बजेटमार्फत वन संरक्षण, व्यवस्थापनसँगै उपभोक्ताको हित र सामुदायिक विकासका गतिविधिलाई प्राथमिकता दिने जनाइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर–९ का वडाध्यक्ष कञ्चनकुमार तामाङले सामुदायिक वनले आगामी दिनमा समुदाय केन्द्रित योजना निर्माण गर्नुपर्नेमा जोड दिए । उनले पछिल्लो समय जंगली जनावरका कारण स्थानीय समुदायले समस्या र त्रास व्यहोर्नुपरेको उल्लेख गर्दै वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण तथा समुदायको सुरक्षालाई केन्द्रमा राखेर योजना बनाउन आग्रह गरे ।
‘वन संरक्षणसँगै वन आसपासका समुदायको सुरक्षा र हित पनि सामुदायिक वनको प्राथमिकतामा पर्नुपर्छ,’ उनले भने, ‘जंगली जनावरका कारण उत्पन्न समस्या समाधान गर्न समुदाय केन्द्रित कार्यक्रम आवश्यक छ ।’
साधारण सभाका अवसरमा वन संरक्षण तथा व्यवस्थापनमा योगदान पुर्याएका समूहका पूर्व पदाधिकारीलाई सम्मानसमेत गरिएको थियो । सम्मानित हुनेमा निवर्तमान अध्यक्ष अम्बरबहादुर लिम्बू, सचिव कमला पराजुली गौतम तथा पूर्व उपाध्यक्षहरू नरबहादुर दाहाल, देउमान थेगिम, अरुण कटुवाल, बुद्धिबहादुर श्रेष्ठ, धनकुमार श्रेष्ठ र जोखेन मेचे रहेका छन् ।
कार्यक्रममा सामुदायिक वन अभियन्ता संगीता थापा, वनका निवर्तमान अध्यक्ष अम्बरबहादुर लिम्बू, सामुदायिक वन उपभोक्ता महासंघ मेचीनगर अध्यक्ष जानुका ओली, बाँसबारी सामुदायिक वनकी अध्यक्ष अम्बिका प्रसाईं तथा सव डिभिजन कार्यालयका सहायक वन अधिकृत टेकेन्द्र विष्टले शुभकामना मन्तव्य राखेका थिए ।
उनीहरूले सामुदायिक वनको संरक्षणसँगै उपभोक्ताको आवश्यकता, वातावरण संरक्षण र वन्यजन्तु व्यवस्थापनबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिए । कार्यक्रमको सञ्चालन समूहकी सचिव देविका खड्का र कार्यालय सचिव तीर्थ खड्काले गरेका थिए । साधारण सभामा समूहका पदाधिकारी, उपभोक्ता तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो ।


















