झापा ।
हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास अवस्थित छ।
हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका बाँकी हिमाली भूभागमा साधारणतया बादल लागेको छ। यस्तै पहाडी भूभागमा आंशिक बादल लाग्नुका साथै तराई भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ। अहिले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सोमबार देशभर आंशिक बादल लाग्ने अनुमान गरिएको छ। देशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ। यसैगरी सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थान तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा पनि मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।


















