बिर्तामोड ।

झापाको अर्जुनधारा नगरपालिका–६ मा रहेको माता अंगीरस मन्दिर प्रतिष्ठानको प्रथम साधारणसभाले टंकप्रसाद सेडाईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । प्रतिष्ठानको सोमवार मन्दिरको सभाहलमा भएको प्रथम साधारणसभाले नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा पारसमणि मैनाली, सचिवमा रामप्रसाद सेडाई, कोषाध्यक्षमा नविन अग्रवाल चयन भएका छन् । यसैगरी सदस्यहरुमा इश्वरा श्रेष्ठ, चन्द्रादेवी सेडाई, सुरेश वंशल, बिनोद वंशल र हेमराज कडरिया सर्वसम्मत चयन भएका छन् ।

प्रतिष्ठानका अध्यक्ष ओमभक्त सेडाईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अर्जुनधारा–६ का वडाध्यक्ष हरिशचन्द्र बास्तोलाको प्रमुख आतिथ्य रहेको थियो । अध्यक्ष सेडाईले साधारणसभामा प्रस्तुत गरेको प्रतिवेदन अनुसार अर्जुनधारा–६ माता मन्दिर अर्थात दुर्गा मन्दिरमा ३० बर्षदेखि सेवा गरिरहेकी ९० बर्षीया पद्मादेवी सेडाईले आफ्नो नाममा रहेको २ कठ्ठा ६ धुर जग्गा  प्रतिष्ठान बनाएर समुदायलाई हस्तान्तरणसँगै २०८२ माघ ६ गते बृहत भेला गरेर ओमभक्त सेडाईको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरिएको थियो ।  

स्वागत प्रतिष्ठानका उपाध्यक्ष टंकप्रसाद सेडाईले गरेको कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष बास्तोला, अर्जुनधारा–६ वडा सदस्य टुमनाथ सेडाई, पूर्व प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव पारसमणि मैनालीले गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठानकी संरक्षक पद्मादेवी सेडाई, बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बास्तोला, समाजसेवी केदारप्रसाद मैनालीलगायतको आतिथ्य रहेको थियो भने स्थानीय सामाजिक तथा धार्मिक ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।