मेचीनगर ।
झापाको मेचीनगर–९ स्थित खुट्टिडाँगीमा लोकप्रिय खुट्टिडाँगी नाइट सुपर सिक्स क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आयोजना हुने भएको छ। सरस्वती क्रिकेट एकेडेमीको आयोजनामा हुने प्रतियोगिता आगामी असोज २४ गते खुट्टिडाँगी क्रिकेट मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ।
बजाज दमक र राजेश मोटर्सको प्रस्तुतिमा आयोजना हुने प्रतियोगिताको पहिलो संस्करणमा दर्शक तथा खेलप्रेमीको उत्साहजनक सहभागिता भएपछि दोस्रो संस्करणलाई थप भव्य बनाउने तयारी गरिएको आयोजक सरस्वती क्रिकेट एकेडेमीका अध्यक्ष सजेश पुरीले जानकारी दिए ।
प्रतियोगितामा ६ खेलाडीको टोलीले ५ ओभरको खेल खेल्नेछन्। एकै रातमा प्रतियोगिता सम्पन्न गर्ने लक्ष्यसहित आयोजना हुने प्रतियोगितामा झापाका विभिन्न स्थानबाट करिब २० देखि २५ वटा टोलीको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगिताबाट एक टोलीलाई विजेता घोषणा गरिनेछ।
रात्री समयमा सञ्चालन हुने भएकाले मैदानमा आकर्षक प्रकाश व्यवस्थासहित प्रतियोगितालाई मनोरञ्जनात्मक र पारिवारिक वातावरणमा सञ्चालन गर्ने तयारी गरिएको आयोजकको भनाइ छ। प्रतियोगिता हेर्न झापाका विभिन्न क्षेत्रबाट २ हजारभन्दा बढी परिवार तथा दर्शक आउने अपेक्षा आयोजकले गरेको छ।
सरस्वती क्रिकेट एकेडेमीले क्रिकेटसँगै स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने र रात्री क्रिकेटमार्फत खेलप्रति नयाँ पुस्ताको आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ।


















