झापा ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज बन्दसत्रसँगै नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि चुनावी प्रक्रिया पनि शुरु हुँदैछ । काठमाडौंको खुलामञ्चमा हिजो महाधिवेशन उद्घाटन भएपछि आज बिहान ९ बजेदेखि बन्दसत्र शुरु हुन लागेको हो । बन्दसत्र पनि खुलामञ्चमै हुने कार्यक्रम रहेको छ ।
बन्दसत्रमा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ । यसैबीच कांग्रेसको निर्वाचन समितिले केन्द्रीय कार्यसमिति चयनका लागि चुनावी कार्यतालिका सार्वजनिक गरेको छ । यसअनुसार आज बेलुकी ५ बजे मतदाता नामावली प्रकाशन, ५ बजेदेखि ६ः३० बजेसम्म मतदाता नामावली प्रकाशनउपर दाबीविरोध, बेलुका ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
यस्तै भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन, दिउँसो ४ः३० बजे अन्तिम नामावली प्रकाशन, ४ः३० बजेदेखि ५ः३० बजेसम्म उम्मेदवारी दरखास्तमा दाबीविरोध, बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ । पर्सि २१ गते बिहान ९ बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने, बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, दिनभर प्रचारप्रसार गर्न पाइने र २२ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदानको कार्यक्रम तोकिएको छ ।
प्रतिक्रिया 0