बुद्धशान्ति । 

बुद्धशान्ति प्रेस क्लब झापाले दसैँको अवसरमा पत्रकार तथा सञ्चारकर्मीबीच आपसी सद्भाव, एकता र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागेको बुद्धशान्ति वडा नम्बर १ दोस्रो झापा मिडिया कप–२०८३ को खेल तालिका सार्वजनिक गरेको छ ।

बुधबार आयोजित एक कार्यक्रमका बीच गोलाप्रथाबाट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो । बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा प्रतियोगिता संयोजक नारायण अर्यालले खेल तालिका सार्वजनिक गर्नुभएको थियो ।

सार्वजनिक खेल तालिकाअनुसार पहिलो खेलमा मेचीनगर प्रेस क्लब र कनकाई प्रेस क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा पर्यटन पत्रकार र दमक पत्रकार मञ्चबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको पहिलो पोलबाट आयोजक बुद्धशान्ति प्रेस क्लब र दोस्रो पोलबाट ग्रामीण प्रेस क्लब सिधै सेमिफाइनलमा प्रवेश गरेका छन् । आयोजक बुद्धशान्ति प्रेस क्लबले मेचीनगर प्रेस क्लब र कनकाई प्रेस क्लबबीचको विजेतासँग सेमिफाइनल खेल्नेछ । यस्तै, ग्रामीण प्रेस क्लबले पर्यटन पत्रकार र दमक पत्रकार मञ्चबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको पहिलो दिन असोज २४ गते चार खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिता बुद्ध आदर्श माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा कुल ६ वटा टिमको सहभागिता रहनेछ । प्रतियोगितामा बुद्धशान्ति गाउँपालिका–१ मुख्य प्रायोजकका रूपमा रहेको छ । प्रतियोगिताको विजेताले रु। ३१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु। २१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै तेस्रो हुने टिमलाई पनि नगद ११ हजार सहित प्रमाणपत्र प्रदान गरिनेछ।

 प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता लगायत विभिन्न विधामा समेत खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । खेल तालिका सार्वजनिक कार्यक्रममा बुद्धशान्ति गाउँपालिका–१ का वडाध्यक्ष अनिल वाग्ले, प्रेस क्लबका संस्थापक सचिव दिपेन लावती लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रेस क्लबका सचिव रोशन भट्टराईले गर्नुभएको थियो ।