हल्दीवारी । 

झापाको हल्दीवारी गाउँपालिकामा करिव तीन बर्षवढी सेवा प्रदान गरेर हाल सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) ले एउटा राष्ट्रिय कर्मचारीले स्थानीय तहमा रहेर पनि स्थानीयको मन जित्न सफल हुन सकिन्छ भन्ने उदेश्यका साथ काम गरेका छन् ।  उनले पालिकामा गरेको विकास योजना साच्चै प्रशनिय छ । 

प्रमुख प्रशासकीय अधिकृतका रुपमा बन आउनु अघि हल्दीवारी गाउँपालिकामा धेरै प्रमुख प्रशासकीय अधिकृतहरु दुई÷तीन महिना पनि टिक्न हम्मे–हम्मे पर्दै आएको थियो । पालिकाका जनप्रतिनिध, कर्मचारी साथै स्थानीय संघसंस्थासँगको समन्वय तथा साथ र सहयोगमा उनले धेरै उदाहरण योग्य काम गरेका छन् । इच्छाशक्ति भए स्थानीय तहमा रहेर पनि धेरै विकास योजनाका काम गर्न सकिन्छ भन्ने उनी उदाहरण बनेका छन् । उनल कर्मचारी मात्र नभएर एउटा जनप्रतिनिधिका रुपमा पालिकाको विकासमा योगदान गरेका छन् । 

बन आएसँगै जनप्रतिनिधि र कर्मचारीहरुसँग सहकार्य गरेर पालिकामा थुप्रै विकास योजनाका कार्यक्रमहरु भएका पालिकावासीहरु बताउछन् । उनले हल्दीवारी पालिकामा रहँदा गरेका विकासे योजनाहरु अहिले प्रशंसाको केन्द्र बन्ने गरेका छन् ।  

प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन २०८० भदौ ५ गते हल्दीबारी गाउँपालिकामा सरुवा भएर आएका थिए । उनी आएदेखि गाउँपालिकाको समग्र प्रशासनिक व्यवस्थापन, सेवा प्रवाह, विकास निर्माण, सामाजिक विकास तथा संस्थागत सुधारका क्षेत्रमा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, निजी तथा गैरसरकारी क्षेत्र र स्थानीय समुदायबीचको सहकार्यलाई प्राथमिकता दिँदै विभिन्न महत्वपूर्ण कार्यहरू सञ्चालन हुँदै आएका छन् । 

यसैगरी उपलब्ध स्रोत–साधनको प्रभावकारी परिचालन, सेवाग्राहीमैत्री सेवा प्रवाह तथा योजनाबद्ध विकासलाई बनले जोड दिँदै आएका छन् ।  प्रमुख प्रशासकीय अधिकृत बन पालिकामा आएसँगै यस अवधिमा भएका प्रमुख गतिविधि तथा उपलब्धिहरूयस प्रकार रहेका छन् ।

  • प्रमुख प्रशासकीय अधिकृत बनकार्यकालमा भएका प्रमुख गतिविधि तथा उपलब्धिहरूः

असल अभ्यास तथा नवप्रवर्तनका क्षेत्रमा गाउँपालिकाले सञ्चालन गरेका प्रभावकारी कार्यक्रमका कारण झापा जिल्लामै हल्दीवारी प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

हल्दिबारी गाउँपालिकाको भाषा, संस्कृति, धर्म, जातजाति, भौगोलिक तथा सामाजिक विविधतालाई समेटी गाउँपालिकाको पालिका गान तयार गरि कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाका सार्वजनिक स्थल, मठमन्दिर तथा विद्यालयहरूमा सीसी टिभी  क्यामेरा जडान गरी सुरक्षा तथा निगरानी प्रणालीलाई व्यवस्थित गरिएको छ । 

गाउँपालिकाका विभिन्न पोल तथा सार्वजनिक क्षेत्रमा सौर्य बत्ती जडान गर्ने कार्यलाई निरन्तरता, गाउँपालिका अन्तर्गतका विद्यालयहरूमा छात्र–छात्रामैत्री शौचालय तथा आवश्यक भौतिक पूर्वाधार व्यवस्थापनमा प्राथमिकता, परम्परागत आरन व्यवसायको संरक्षण, आधुनिकीकरण, प्रवद्र्धन तथा पुस्तान्तरणका लागि कार्यक्रम सञ्चालन गरिएको छ । 

यसैगरी अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि कोशी प्रदेश सामाजिक विकास मन्त्रालय तथा करूणा फाउण्डेशनसँगको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन, जेन्जी आन्दोलन÷विपद्जन्य अवस्थाका समयमा गाउँपालिका भवन तथा वडा कार्यालय भवनहरूलाई सुरक्षित राख्दै अत्यावश्यक सेवा प्रवाहलाई निरन्तरता, गाउँपालिकाभित्र विकास तथा आवागमनलाई सहज बनाउन करिब ३० किलोमिटर पक्की सडक निर्माण सम्पन्न गरिएको छ । 

गाउँपालिकाका विभिन्न स्थानमा ३ वटा ठूला पुल÷कल्भर्ट निर्माण गरी यातायात तथा आवागमनमा सहजता ल्याइएको, गाउँपालिकाको प्रवेशद्वार क्षेत्रमा नेपालका राष्ट्रिय झण्डाहरू २० वटा फहराई सौन्दर्यकरण तथा राष्ट्रिय भावनाको प्रवद्र्धन गरिएको, गाउँपालिकाको विकास योजना तथा बजेटलाई थप योजनाबद्ध र परिणाममुखी बनाउन मध्यमकालीन खर्च संरचना (MTEF) निर्माण गरिएको पालिकाले जनाएको छ । 

प्रमुख प्रशासकीय अधिकृत बनले पालिकामा रहँदा वडा नं. ४ लाई बालमैत्री वडा घोषणा गरी बालअधिकार तथा बालमैत्री स्थानीय शासनको प्रवद्र्धन गरिएको, आवश्यक सूचकहरू पूरा गर्दै हल्दीबारी गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको, गाउँपालिकाभित्रका बालबालिकाको वस्तुगत अवस्था समेटिएको बालबालिका सम्बन्धी वस्तुगत स्थिति प्रोफाइल तयार गरिएको, स्वास्थ्य संस्थाहरूको सेवा तथा व्यवस्थापनमा सुधार ल्याउँदै जिल्लास्तरमा दुई पटक स्वास्थ्य संस्थातर्फ प्रथम स्थान हासिल गर्न सफल भएको पालिकाको तथ्याङ्कमा छ । 

त्यस्तै गाउँपालिकाको शैक्षिक विकासका लागि पाँच वर्षीय आवधिक शिक्षा योजना तयार गरी कार्यान्वयनको आधार तयार गरिएको, गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता कायम गर्ने कार्यमा निरन्तरता दिइएको, आमा तथा शिशुको स्वास्थ्य सुधारका लागि स्तनपान कक्ष निर्माण गरी सेवाग्राहीमैत्री स्वास्थ्य सेवा वातावरण तयार गरिएको, गाउँपालिकाका विभिन्न क्षेत्रमा सञ्चालन हुने विकास निर्माणका योजनाहरूको स्थलगत अनुगमनलाई थप सहज र प्रभावकारी बनाउन एक थान थप सवारी साधनको व्यवस्थापन गरिएको छ । 

नागरिकलाई आकस्मिक तथा स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन २४ सै घण्टा अस्पताल सेवा सञ्चालनको व्यवस्था गरिएको छ भने गाउँपालिकाको अस्पतालमा भिडियो एक्स–रे सेवा थप गरी स्थानीयस्तरमै थप स्वास्थ्य सेवा उपलब्ध गराइएको छ । 

अस्पतालमा आउने नागरिकको सुविधा तथा अनुभवलाई प्राथमिकता दिँदै सेवाग्राहीमैत्री अस्पतालको अवधारणालाई कार्यान्वयनमा ल्याइएको, स्थानीय तहमा रोजगारी प्रवद्र्धन तथा बेरोजगारी न्यूनीकरणका लागि रोजगार रणनीतिक योजना निर्माण गरिएको, पशु स्वास्थ्य सेवाको पहुँच विस्तार तथा प्रभावकारी व्यवस्थापनका लागि पशु अस्पताललाई व्यवस्थित रूपमा सञ्चालन गरिएको पालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले जानकारी दिए । 

कर्मचारीहरूको हित तथा कल्याणलाई संस्थागत गर्दै कर्मचारी कल्याण कोषलाई एकीकृत गरी बजेट व्यवस्थापन गरिएको छ । समग्रमा गाउँपालिकाको प्रशासनिक सुधार, सेवा प्रवाहमा सहजता, पूर्वाधार विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, रोजगार, बालमैत्री शासन तथा संस्थागत क्षमता विकासका क्षेत्रमा जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्यलाई थप सुदृढ गर्दै कार्यसम्पादनलाई परिणाममुखी बनाउने प्रयास गरिएको पालिकाले जनाएको छ ।

सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत बनले पालिकामा रहँदा गरेको कार्यको प्रशंसा गर्दै बिहीवार उनलाई अभिनन्दनसहित विदाई गरिने पालिकाले जनाएको छ ।