झापा । 

अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। भारतका बहुप्रतिभावान एवम् चर्चित अभिनेता पाटेकरको भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा हृदयघातका कारण  निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बिहान घरमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भएपनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। सन् १९५१ जनवरी १ मा जन्मेका नाना पाटेकर (विश्वनाथ पाटेकर) ले सन् १९७८ को चलचित्र ‘गमन’ बाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए। उनले बलिउडका साथै मराठी सिनेमामा पनि आफ्नो अद्वितीय अभिनयको छाप छोडेका छन्।  ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘अपहरण’, ‘वेलकम’ र ‘नटसम्राट’ जस्ता प्रसिद्ध चलचित्रहरूमा उनका जीवन्त भूमिका चर्चित छन्।

अभिनयका अलावा उनी आफ्ना सामाजिक कार्यका लागि पनि परिचित थिए। उनले स्थापना गरेको ‘नाम फाउन्डेसन’ मार्फत भारतका खडेरीपीडित किसानहरूलाई उल्लेखनीय सहयोग पुर्‍याउँदै आएका थिए। कला क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै भारत सरकारले उनलाई सन् २०१३ मा ‘पद्मश्री’ पुरस्कारबाट सम्मानित गरेको थियो।

उनको अप्रत्याशित निधनले भारतीय चलचित्र जगतका साथै विश्वभर रहेका उनका प्रशंसकहरूमा शोकको लहर छाएको छ। फिल्मकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।