बिर्तामोड । 

तेस्रो संस्करणको मिस्टर कञ्चनजंघा राष्ट्रिय बडिबिल्डिङ च्याम्पियनसिपको उपाधि भैरहवाका अनिश थापाले जितेका छन् । उनले असोज ३ गते सम्पन्न छैटौँ मिस्टर भक्तपुर बडिबिल्डिङ च्याम्पियनसिपको उपाधि पनि जितेका थिए । बिर्तामोडको बडी ग्यारेज शारीरिक सुगठन क्लबको आयोजनामा सम्पन्न च्याम्पियनसिपको बुधबार राति भएको प्रतिस्पर्धामा ७५ केजी तौल समूहका थापाले उपाधि हात पारेका हुन् । उपाधिसँगै उनले नगद ५ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । उनी रअ फिटनेस भैरहवाबाट सहभागी भएका थिए ।

थापाले एसियन च्याम्पियनसिपको आउजाउको हवाइ टिकट र त्यहाँको बसोबासको सम्पूर्ण खर्च समेत प्राप्त गर्नेछन् । आइएफबिबी एसियन च्याम्पियनसिप यही नोभेम्बर १३ देखि १६ तारिखसम्म पटाया, थाइल्यान्डमा हुँदैछ । त्यस्तै, प्रतियोगितामा ७५ केजीभन्दा माथि तौल समूहका ललित धिमालले दोस्रो हुँदै नगद ३ लाख रुपैयाँ र प्रमाणपत्र पाए । उनी झापा बिर्तामोडको ग्यालेक्सी फिटनेसका खेलाडी हुन् ।

६५ केजी तौल समूहका योगेन्द्र अधिकारी तेस्रो भए । उनी झापा अर्जुनधाराको अर्जुनधारा फिटनेसका खेलाडी हुन् । उनले नगद २ लाख रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे । चौथोमा ७० केजी तौल समूहका अजय मल्लिक भए । मोरङको पथरीका उनी नेपाल पुलिस क्लबका खेलाडी हुन् । उनले नगद एक लाख रुपैयाँ र प्रमाणपत्र पाए । प्रतियोगितामा पाँचौँ द व्यायाशाला इटहरीका शौरभ थापा मगर भए ।

६० केजी तौल समूहका उनले नगद ७५ हजार र प्रमाणपत्र प्राप्त गरे । छैटौँ भएका बुटवल फिटनेस एन्ड जिमका सुनिल आलले नगद ५० हजार रुपैयाँ र प्रमणपत्र पाए । त्यस्तै, महिलातर्फ काठमाडौँको पावर फिजिकल फिटनेसकी रिपु घर्ती च्याम्पियन भइन् । उनले नगद एक लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाइन् । उनले थाइल्यान्डमा भएको ५८ औँ एसियन बडिबिल्डिङ तथा फिजिक स्पोट्र्स च्याम्पियनसिप–२०२६ मा चौथो स्थान हासिल गरेकी थिइन् ।

त्यस्तै, दोस्रो भएकी हाम्रो व्यायाशाला धरानकी गंगा मगरले नगद ५० हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र पाइन् । बुटवलको किंग अफ फिटनेसकी चुनकुमारी पुन तेस्रो भइन् । उनले नगद २५ हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । बडी ग्यारेजकी मनकुमारी भट्टराई चौथो भइन् । उनले नगद १० हजार रुपैयाँ पाइन् ।

विजेताहरुलाई प्रमुख अतिथि बिर्तामोड नगरप्रमुख पवित्रादेवी महतारा प्रसाईं, अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देन, नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ कोशी प्रदेशका अध्यक्ष आदित्य पराजुली, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शेखर कँडेल, प्रतियोगिताका प्रमुख सल्लाहकार सुवास भट्टराई, अध्यक्ष पदम श्रेष्ठ, कार्यक्रम संयोजक राम दाहाल लगायतले पुरस्कार प्रदान गरेका थिए ।