कनकाई   । 

झापाको कनकाई नगरपालिका–१, प्रजापतिमा आजबाट वाडस्तरीय फुटबल सुरु भएको छ । बिहीवार भएको उदघाटन खेलमा वडा नम्बर ३ ले बिजयी सुरुवात गरेको छ । 

३ ले ४ लाई २/० गोल अन्तरले पराजित गर्दै बिजयी भएको हो । ३ का तर्फबाट खेलको पहिलो हाफको इन्जुरी समयमा मन्दिप राईले गोल गर्दै टिमलाई अग्रता बनाए भने दोस्रो हाफमा  क्षितिज कुवँरले गोल गर्दै अग्रता दोब्बर बनाउँदै जित सुनिश्चित गरे । आजको खेलको म्यान अफ द म्याच वडा नम्बर ३ का खेलाडी साहिल गुरुङ बने । 

भोली हुने खेल कनकाई नगरपालिकाको १ नम्बर वार्ड र ७ नम्बर वार्डको टिम बिच हुने आयोजक समिति प्रजापति सामुदायिक क्लवका अध्यक्ष त्रिलोचन रिजालले बताए । आगामि असोज ३० गतेसम्म हुने प्रतियोगितामा कनकाई नगरपालिकाका ९ वटा वडाको सहभागिता रहेको छ । बिजयी हुने टिमले नगद ५१ हजार १११ र उपबिजयी हुने टिमले नगद ३१ हजार १११ रुपैँया प्राप्त गर्नेछ । 

प्रतियोगिताको अन्त्यमा उत्कृष्ट गोलकिपर, टप स्कोरर तथा ‘म्यान अफ द टुर्नामेन्ट’लाई समेत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।  प्रतियोगिता सञ्चालनका लागि कनकाई नगरपालिका, प्रजापति सामुदायिक वन समुह लगायातको आर्थिक सहयोग रहेको छ ।

प्रतियोगिता उदघाटन कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी, १ का वडाअध्यक्ष सुशिलकुमार पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका कनकाई नगर सभापति मोहन थापा, प्रजापति सामुदायिक वन समुहका अध्यक्ष मात्रिका पोखरेल लगायातको आतिथ्यता रहेको थियो । 

उदघाटन पुर्व भएको प्रजापति सामुदायक वन र छिमेकी जुकेखाडी सामुदायिक वन समुहको मैत्रीपुर्ण खेलमा प्रजापति सामुदायिक वन समुहको टिम ४÷२ गोल अन्तरले बिजयी भएको छ ।