झापा l

नेपाली कांग्रेसको संस्थापन इतर समूहले बिर्तामोड नगर समितिको नेतृत्व चयन गरेको छ। १५औँ नियमित महाधिवेशनअन्तर्गत इतर समूहको नगर अधिवेशनबाट मनोज घिमिरे सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्।

बिर्तामोडस्थित सिके चिन्तन प्रतिष्ठानको सभाहलमा सम्पन्न अधिवेशनले घिमिरेको नेतृत्वमा नगर कार्यसमिति चयन गरेको हो। नगर उपसभापतिमा विजय कन्दङ्वा, सचिवमा अजित ढुंगाना र कोषाध्यक्षमा रामकुमार नेपाल चयन भएका छन्।

अधिवेशनमा सिके चिन्तन प्रतिष्ठानका संरक्षक विवेक केशरी प्रसाई प्रमुख अतिथि थिए। कोशी प्रदेश संयोजक गोमा भट्टराई विशिष्ट अतिथि तथा जिल्ला संयोजक कृष्ण हुमागाई विशेष अतिथि थिए।

कार्यक्रममा जिल्ला परिचालन समितिका मदन बुढाथोकी, ओम विमली, हर्कलाल गिरी, मिरा खड्का, जिल्ला निर्वाचन संयोजक नारायणप्रसाद पौडेल र नगर निर्वाचन संयोजक टीकाराम खतिवडालगायत सहभागी थिए।

१० वटै वडामा नेतृत्व चयन

नगर अधिवेशनअघि नै संस्थापन इतर समूहले बिर्तामोडका १० वटै वडामा अधिवेशन सम्पन्न गरिसकेको थियो। वडा अधिवेशनबाट वडा नम्बर १ मा रविन बुढाथोकी, २ मा निरज बुढाथोकी, ३ मा टंकप्रसाद दवाडी, ४ मा सुरेन्द्र मैनाली र ५ मा दिपेन चौधरी सभापति निर्वाचित भएका थिए।

त्यस्तै वडा नम्बर ६ मा सनम पुरी, ७ मा साजत आलम, ८ मा बालकृष्ण प्रसाई, ९ मा खेमराज पौडेल र १० मा गणेश श्रेष्ठ वडा सभापतिमा निर्वाचित भएका थिए।

यससँगै इतर समूहले बिर्तामोडको वडा तहदेखि नगर तहसम्म आफ्नो संगठनात्मक संरचना तयार गरेको छ।

भद्रपुर र दमकमा पनि इतर समूहको नेतृत्व

कांग्रेसको १५औँ नियमित महाधिवेशनलाई लिएर संस्थापन इतर समूहले झापाका अन्य नगरमा पनि छुट्टै अधिवेशन प्रक्रिया अघि बढाएको छ। सोही क्रममा भद्रपुर नगर समितिको सभापतिमा खड्कबहादुर लिम्बू निर्विरोध निर्वाचित भएका छन्।

भद्रपुरमा भएको इतर समूहको अधिवेशनले लिम्बूलाई नगर सभापतिमा चयन गरेको हो। नगर सचिवमा मानसिंह राजवंशी चयन भएका छन्। निर्वाचन समितिका अनुसार नगर कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्य पनि निर्विरोध चयन भएका छन्।

त्यस्तै दमक नगर समितिको सभापतिमा २९ वर्षीय सुनिल राई निर्विरोध निर्वाचित भएका छन्। विद्यार्थी जीवनदेखि नै कांग्रेसमा सक्रिय राईको नेतृत्वमा दमक नगर समितिको नयाँ नेतृत्व चयन गरिएको हो।

झापामा कांग्रेसको नियमित महाधिवेशनअन्तर्गत संस्थापन पक्ष र संस्थापन इतर समूहले छुट्टाछुट्टै संगठनात्मक गतिविधि अघि बढाइरहेका छन्। इतर समूहले नगरसँगै क्षेत्र र प्रदेश तहसम्म आफ्नो नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाएको छ।

नगरदेखि वडा तहसम्म नेतृत्व चयन भइरहेका बेला झापामा कांग्रेसको आन्तरिक शक्ति सन्तुलन र संगठनात्मक गतिविधि पनि तीव्र बनेको छ। बिर्तामोडमा घिमिरे, भद्रपुरमा लिम्बू र दमकमा राईको नेतृत्व चयनसँगै इतर समूहले जिल्लाका प्रमुख नगरमा आफ्नो संगठनात्मक उपस्थिति विस्तार गरेको छ।