बिर्तामोड । 

झापाको बिर्तामोड–४ मा  मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था (साकोस) को १६ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाले सातवटा इकाइमा इकाइगत साधारण सभा सम्पन्न गरेपछि आज मूल माइन्युट प्रमाणीकरणसँगै १६ औं साधारण सभा सम्पन्न गरेको हो । सातवटै इकाइबाट छनोट भएका २६ जना प्रतिनिधिले संस्थाको अन्तिम माइन्युट प्रमाणीकरण गरेका हुन् ।

 संस्थाका अध्यक्ष सुभाष भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उत्कृष्ट कर्मचारीका रूपमा शनिश्चरे सेवा केन्द्रका प्रमुख दिवस गजुरेल र मानव उद्धार कार्यमा समर्पित सामाजिक अभियन्ता महेन्द्र भट्टराईलाई सम्मान गरिएको थियो । त्यस्तै, कार्यक्रममा संस्थापक सेयर सदस्यद्वय टंककुमार बस्नेत र पार्वता बस्नेत कार्कीलाई दोसल्ला ओढाएर मायाको चिनोसहित सम्मान गरिएको छ । 

कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले संस्थाको वित्तीय अवस्था तथा अन्तिम माइन्युटमा समेटिएका विषयवस्तुबारे जानकारी गराउनुभएको थियो ।उनका अनुसार संस्थाको वासलातमा ६.६६ प्रतिशत वृद्धि भई कुल ३ अर्ब ५४ करोड १० लाख १४ हजार ३२६ रुपैयाँ पुगेको छ ।

संस्थाको शेयर ३७ करोड ३९ लाख ४ हजार ५०० रुपैयाँ, बचत २ अर्ब ५६ करोड ९० लाख ७० हजार ८०४ रुपैयाँ, गैरवित्तीय सम्पत्ति ६ करोड ४२ लाख २४ हजार ७५२ रुपैयाँ र स्थिर सम्पत्ति ६ करोड ५१ लाख ६८ हजार ५४० रुपैयाँ रहेको छ । संस्थाले बाह्य ऋण ६० प्रतिशतभन्दा बढी घटाएको कार्यकारी प्रमुख बस्नेतले जानकारी दिए । त्यस्तै, संस्थाले सदस्यलाई १ करोड ३ लाख १८ हजार ३७० रुपैयाँ सेयर लाभांश वितरण गर्ने जनाइएको छ ।

संस्थाका अध्यक्ष भट्टराईले आर्थिक वर्ष २०८२/८३ मा संस्थाले सामाजिक उत्तरदायित्व लगायत विभिन्न कार्यक्रममा १ करोड ४२ लाख ६७ हजार १८० रुपैयाँ खर्च गरेको जानकारी दिनुभयो । वित्तीय कारोबारमा मात्र सीमित नभई सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राखिएको उनको भनाइ छ ।

कार्यक्रममा सामाजिक अभियन्ता बुद्धिराम भट्टराईले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका सचिव इन्द्रबहादुर कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन कर्जा विभाग प्रमुख प्रेम बस्नेत विजयले गरेका थिए । साधारणसभामा संस्थाका सल्लाहकार, सञ्चालक समितिका पदाधिकारी तथा सदस्य, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति, शिक्षा उपसमिति र व्यवस्थापन तहका कर्मचारी, शेयर सदस्य लगायतको उपस्थिति रहेको थियो ।