झापा ।
आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु भएको छ । विजयादशमीको पहिलो दिन आज घरघरमा कलश स्थापना गरी घटस्थापना पर्व मनाइँदैछ ।
आज नदीबाट बालुवा निकालेर घरमा जमरा राख्न माटो लानेगरिन्छ । कलशको स्थापना गरी यस दिन नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा वा माटो ल्याउर दशैं घर वा पूजा कोठामा राखी त्यस चोखो माटो या बालुवामा जमरा उमार्न, जौ तथा मकै छर्ने प्रचलन रहेको छ ।
जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको शास्त्रमा उल्लेख छ । हिन्दु धर्मालम्बीहरुले आजदेखि ९ दिनसम्म शक्तिपीठहरुमा माता दुर्गाको पूजाआजा गर्ने गर्दछन् ।
प्रतिक्रिया 0