झापा । 

साउदी अरबको राजधानी रियादस्थित एक विमानस्थलमा यमनका हुथी विद्रोहीले गरेको हमलाले त्यहाँ कार्यरत नेपालीको सुरक्षाका साथै रोजगारीको सुनिश्चिततामाथि चिन्ता बढाएको छ । यमनका हुथी विद्रोहीले आइतबार गरेको हवाई आक्रमणका कारण कम्तीमा १२ जनाको ज्यान गएको छ भने ३०९ जना घाइते भएका छन् । आक्रमणमा कुनै पनि नेपाली परेका छैनन् । आक्रमणमा साउदीका चार, बंगलादेशका दुई र अमेरिका, जोर्डन, प्यालेस्टाइन, सिरिया, सुडान एवं इजिप्टका एक–एक जना मारिएका छन् ।

हुथी विद्रोहीको आक्रमणको यो क्षमताले उनीहरूलाई साउदी अरबभित्र आक्रमण गर्न सक्षम बनाएको देखिएको छ । यसले साउदी अरेबियालाई अस्थिरतातर्फ धकेल्ने खतरा बढाएको छ । हुथी विद्रोहीहरूको क्षमता अब साउदी अरबभित्र रियादका विमानस्थल, सहरी पूर्वाधार र आवासीय क्षेत्रहरूलाई लक्षित गर्दै गहिरो आक्रमण गर्न सक्ने स्तरमा विकास भएको देखिएको छ ।

साउदी अधिकारीहरूका अनुसार, हुथी विद्रोहीहरूले दुई दिनभित्र देशका दुई प्रमुख विमानस्थल रियाद र आभामा मिसाइल तथा ड्रोन आक्रमण गरेका छन् । यी आक्रमणहरूमा तीन जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । हुथी विद्रोहीले साउदी अरबको हवाई क्षेत्र प्रयोग नगर्न अन्तर्राष्ट्रिय एयरलाइन्सहरूलाई ‘अन्तिम चेतावनी’ दिएका छन् । हुथी सैन्य प्रवक्ता याह्या सारीले साउदी हवाई क्षेत्र अब ‘उनीहरूको सैन्य अपरेसनको केन्द्र’ बनेको बताएका छन् ।

यसले साउदीमा हवाई उडान प्रभावित भएका छन् । आइतबार नेपालबाट हुने उडानसमेत प्रभावित भएको छ । साउदी–नेपाल यात्रा अपडेटअनुसार, हिमालय एयरलाइन्सका काठमाडौं–दमाम दुवैतर्फका उडान रद्द भएका छन् । हिमालय एयरलाइन्सले आइतबारका लागि निर्धारित काठमाडौं–दमाम र दमाम–काठमाडौंका दुवै उडान रद्द गरेको छ ।

एयरलाइन्सले यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै उडान रद्द गरिएको जनाएको छ । तर, उडान रद्द गर्नुको विस्तृत कारण तथा प्रभावित यात्रुका लागि वैकल्पिक उडानबारे जानकारी दिइएको छैन । प्रभावित यात्रुहरूलाई थप जानकारीका लागि एयरलाइन्सको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जाल हेर्न अनुरोध गरिएको छ ।

साउदी अरेबियाले कुवेतबाट आउने स्थलमार्ग प्रयोग गर्न आफ्ना नागरिकहरूलाई आग्रह गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले साउदी अरेबियाविरुद्ध लडाइँमा रहेका हुथी विद्रोहीलाई साउदी अरेबियाको क्षेत्रीय प्रतिद्वन्द्वी इरानले लामो दूरीमा प्रहार गर्न सक्ने हतियार उपलब्ध गराएको बताएका छन् । साउदी अरबमा रहेका पश्चिमा देशका कूटनीतिक नियोगहरूले आफ्ना नागरिकहरूलाई विमानस्थलदेखि टाढै रहन अनुरोध गरेका छन् । साउदीमा हमलापछि खाडी देशका कैयौं हवाई कम्पनीले साउदीका लागि आफ्ना उडान रद्द गरेका छन् ।