झापा ।
बडादशैं, तिहारलगायत चाडपर्वमा हुने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखेर नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले ‘विशेष सुरक्षा योजना २०८३’ ल्याएका छन् । योजना कार्यान्वयनका लागि नेपाल प्रहरीले ५० हजार र सशस्त्र प्रहरीले २८ हजारभन्दा बढी जनशक्ति परिचालन गर्ने भएको छ । सोहीअनुसारको आवश्यक ड्रोन तथा सिसिटिभीमार्फत निगरानी गर्ने व्यवस्थासमेत मिलाइएको छ ।
चाडपर्वको मौका छोपी चोरी डकैती, जुवातास एवं सट्टेबाजी, अन्तर्राष्ट्रिय सीमानाकामा तस्करी र सीमा अपराध हुन सक्ने भएकाले यस्ता अपराध नियन्त्रणका लागि नेपाल प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना–२०८३ ल्याएको नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले बताएका छन् । यो समयमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न ५० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको उनको भनाई छ ।
नेपाल प्रहरीले मात्रै होइन, सशस्त्र प्रहरी बललले पनि शान्ति सुरक्षालाई मध्यनजर गर्दै चाडपर्वलक्षित विशेष सुरक्षा योजना–२०८३ ल्याएको हो । दुवै सुरक्षा निकायले छुट्टाछुट्टै योजना बनाएर दसैं, तिहार, छठलगायत राष्ट्रिय चाडपर्वमा हुन सक्ने आपराधिक घटना हुनबाट रोक्ने बताएका छन् ।
सशस्त्र प्रहरीले २८ हजार भन्दा बढी जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना २०८३’ तयार गरी असोज २२ गतेबाटै लागू गरेको बताए । उनले यो वर्ष २८ हजार १२६ जना सुरक्षाफौजलाई तैनाथ गरेको जानकारी दिए ।
असोज २५ गतेबाट औपचारिक रूपमा दशैंको प्रारम्भ भइसकेको छ । दशैं, तिहार र छठ मनाउनका सहरदेखि गाउँ जाने नागरिकको लर्कोछ । दशैंको उल्लाससँगै बढेको भीडभाडसँगै हुन सक्ने आपराधिक घटनाले मुलुकको शान्ति सुरक्षाको विषय गम्भीर बन्ने सक्ने सुरक्षा निकायले आकलन गरेका छन् ।
यही समयमा विष्फोटक पदार्थको ओसारपसार, भन्सार छली, बैंक वित्तीय संस्थामा चोरी डकैती, लुटपाट, खाद्यान्न, लत्ताकपडा र उपभोग्य वस्तुको कृत्रिम अभाव, कालोबजारी, म्याद गुज्रिएका वा मिसावटयुक्त सामग्रीको बिक्री, हुन्डी र नक्कली नोट कारोबारलगायतलाई सुरक्षा निकायले चुनौतीका रूपमा लिएका छन् । यसलाई व्यवस्थापन गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले हरेक वर्षजस्तै यस वर्ष पनि विशेष सुरक्षा योजना ल्याएको दुवै सुरक्षा निकायले बताएको हो । बडादशैं, दीपावली, नेपाल सम्वत् र छठपर्वको सुरक्षा व्यवस्थालाई भरपर्दो र विश्वसनीय बुधबारदेखि ‘चाडपर्वलक्षित सुरक्षा योजना–२०८३’ लागू गरेको नेपाल प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 0