भद्रपुर।
नेपाली कांग्रेस जिल्ला अधिवेशन तयारी समिति झापाका संयोजक कृष्ण हुमागाईले पार्टी निर्माणमा सर्वश्व गुमाएका परिवार र तिनको बिरासतलाई रुवाएर, अपमान गरेर कांग्रेस बलियो हुन नसक्ने बताएका छन् । नेपाली कांग्रेस झापा क्षेत्र नं. ३ को क्षेत्रीय अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै हुमागाँईले बीपी, गणेशमान, निधि र सीके प्रसाईको राजनैतिक बिरासत नसमेटिएको समूहमा असली कांग्रेसको संस्कार र आत्मा नरहेको बताएका हुन् ।
म्याद सकिएको कार्यसमितिको नियमित महाधिवेशन गरेर सबै तहमा नेतृत्व परिवर्तन गर्नु पर्नेमा विशेष महाधिवेशनको नाममा पार्टीलाई बिभाजित गर्ने काम गरेर महामन्त्रीहरुले ९० सिटको पार्टीलाई १८ सिटमा खुम्च्याएको हुमागाँईले भनाई राखेका थिए ।
जिल्ला अधिवेशन तयारी समितिका सह(संयोजक कालेन्द्रप्रसाद सिंह राजवंशीले मनमा लोभ र पाप नभएपपछि मानिसलाई सत्य र इमानको बाटोमा हिड्ने शक्ति प्राप्त हुने बताउदै सर्वोच अदालतले सत्यको पक्षमा फैसला गरेर न्याय दिने बिश्वास प्रकट गरे ।
महासमिति सदस्य भगिरथ पोद्धारले निष्ठाको राजनीतिमा बिश्वास गर्नेले भीडको पछि नकुद्ने बताउदै भीडको भडकाउ मानसिकतालाई इमान र निष्ठाको बाटोमा डोहोर्याउने क्षमता संकटमा उभिने नेतासँग हुने बताए।
महाधिवेशन प्रतिनिधि श्याम सिटौलाले राजनीतिमा त्याग, बलिदान र संगठन निर्माणमा योगदान दिएको नेताहरुलाई अपमान गरेर हिडनेले पार्टी, देश र जनताको भलो गर्छन् भनेर पत्याउन नसकिने बताए। जिल्ला निर्वाचन अधिकृत नारायण प्रसाद पौडेलले निर्वाचन, प्रक्रिया र विभिन्न कलस्टरहरुका बारेमा जानकारी दिए।
३ नं. क्षेत्रीय अधिवेशन तयारी समितिका संयोजक नरायण दाहालको सभापतित्वमा भएको सो कार्यक्रममा स्वागत चिन्तामणी खरेलले गरेका थिए भने कार्यक्रमको सञ्चालन उमाशंकर गणेशले गरेका थिए ।
प्रतिक्रिया 0