बिर्तामोड ।
वैदेशिक रोजगार व्यवसायी संघ झापाको दोस्रो बार्षिक साधारण सभा बिर्तामोडमा सम्पन्न भएको छ । संघले बिहीवार दोस्रो बार्षिक साधारणसभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष धनबहादुर पंधाकको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगर उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्य रहेको थियो ।
साधारणसभामा गैर म्मयानपावर जन्य व्यवसायिक संस्थाका कारण वैदेशिक रोजगार असुरक्षित बन्दै गएको अध्यक्ष पंधाकले बताए । संघका अध्यक्ष पंधाकले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सो धारणा व्यक्त गरेका हुन् ।
ब्युटी पार्लर, कन्सल्टेन्सी, तालिम केन्द्रलगायतका संस्थाले कानुनी प्रक्रिया पूरा नगरी वा गैर संस्थागत माध्यमबाट वैदेशिक रोजगारीमा पठाउँदा समस्या उत्पन्न हुने र त्यसको मार म्यानपावर व्यवसायीहरुमा पर्ने गरेको अध्यक्ष पंधाकले बताए ।
त्यसरी वैदेशिक रोजगारीमा जाँदा श्रमिकको आप्रवासनको वास्तविक विवरण, गन्तव्य मुलुक, रोजगारदाता, रोजगार सम्झौता तथा सुरक्षा सम्बन्धी जानकारी प्राप्त गर्न कठिन हुने उनले बताए । गैरसंस्थागत माध्यमबाट वैदेशिक रोजगारमा जाँदा श्रमिक समस्यामा परेको अवस्थामा उद्धार, कानुनी सहायता तथा क्षतिपूर्तिमा समेत समस्या हुने अध्यक्ष पंधाकले जानकारी दिए ।
अध्यक्ष पंधाकले संघको उदेश्य, वैदेशिक रोजगार व्यवसायका अवसर, चुनौती, निती, कार्यक्रम तथा भावी योजना, सामाजिक तथा सेवामुलक कार्यक्रमलगायतका विषय समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नगर उप–प्रमुख संग्रौला, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डीएसपी सन्तोष पाठक, बिर्तामोड–१ का वडा सदस्य योगचन्द्र आङबुहाङ र नेपाल पत्रकार महासंघ झापा शाखाका सचिव प्रदिप परियारले शुभकामना मन्तव्य राखेका थिए । उनीहरुले म्यानपावर कम्पनीले वैदेशिक रोजगार मात्र नभएर देशमै युवाहरुलाई रोजगारसमेत दिएको बताएका थिए ।
संघका प्रथम उपाध्यक्ष राजन सिलवालले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव नीरकुमार खत्री ९निरन० ले गरेका थिए । संघको स्थापना व्यवसायी एकता कायम गर्दै सदस्य संस्थाहरुको हकहित संरक्षण तथा व्यवसायलाई सुरक्षित, मर्यादित, व्यवस्थित र उत्तरदायी बनाउन सहजीकरण गर्ने उदेश्यले भएको संघका द्धितीय उपाध्यक्ष प्रकाश राईले जानकारी दिए । कार्यक्रममा श्रम तथा रोजगार कार्यालय भद्रपुरका प्रमुख तीलक श्रेष्ठ, मेडिकलका सञ्चालक तथा प्रतिनिधिहरुको पनि आतिथ्य रहेको थियो ।
कार्यक्रममा संघकी महिला उपाध्यक्ष सरिता वराल, सचिवहरु राजेन्द्र पौडेल, पु्ष्पराज प्रसाई, कोषाध्यक्ष कृष्ण खतिवडा, सह–कोषाध्यक्ष प्रेम निरौला, प्रवत्ता ओमप्रकाश भट्टराईसहित संघका कार्यसमिति सदस्य तथा म्यानपावर व्यवसायीहरुको उल्लेखिय उपस्थिति रहेको थियो ।
झापाका १२७ वटा मेनपावर सदस्य रहेको वैदेशिक रोजगार व्यवसायी संघ झापाले विभिन्न परोपकारका कार्यहरू समेत गर्दै आएको छ । संघले रक्तदान, वाढीपिडितलाई सहयोग, जेनजी आन्दोलनमा भएको तोडफोड र आगजनी जस्ता कार्यहरुमा साथ र सहयोग गर्दै आएको छ ।
प्रतिक्रिया 0