झापा ।
मलेसियाको जोहोर राज्यस्थित तेब्राउ औद्योगिक क्षेत्रमा रहेको अटोमोटिभ पार्टपुर्जा तथा इलेक्ट्रोनिक्स उत्पादन गर्ने एक कारखानामा अध्यागमन विभागले छापा मार्दा ४८ नेपाली पुरुष र ७ नेपाली महिलासहित ४९२ आप्रवासी कामदार पक्राउ परेका छन् ।
जोहोर अध्यागमन विभागका निर्देशक दातुक मोहम्मद रुसी मोहम्मद दारुसका अनुसार गत सोमबार बिहान १० बजेदेखि दिउँसो १२ः३० बजेसम्म छापा मारिएको हो । अभियानमा जोहोर अध्यागमन विभाग र मलेसियन बोर्डर कन्ट्रोल एन्ड प्रोटेक्सन एजेन्सी (एकेपिएस) सहभागी थिए ।
उनका अनुसार कारखानामा विदेशी नागरिकले गैरकानुनी रूपमा काम गरिरहेको भन्ने सूचनाका आधारमा केही सातादेखि गुप्त अनुसन्धान गरेपछि छापा मारिएको थियो । अध्यागमन विभागका निर्देशक दारुसले पक्राउ परेका कामदारहरू १९ देखि ४६ वर्ष उमेर समूहका रहेको जानकारी दिएका छन् ।
पक्राउ पर्नेहरूको विवरणअनुसार म्यानमारका ७७ पुरुष र ६६ महिला, बंगलादेशका १७० पुरुष र दुई महिला, नेपालका ४८ पुरुष र सात महिला, भारतका २८ पुरुष र तीन महिला, पाकिस्तानका तीन पुरुष, इन्डोनेसियाका ३८ पुरुष र ४९ महिला तथा कम्बोडियाकी एक महिला रहेका छन् । यसै क्रममा कारखानाका एक पुरुष व्यवस्थापकलाई समेत पक्राउ गरिएको अध्यागमन विभागले जनाएको छ ।
पक्राउ परेका कामदारमाथि मलेसियाको अध्यागमन नियमावली १९६३ को नियम ३९(ख), अध्यागमन ऐन १९५९÷६३ को दफा ६(१) (ग) तथा दफा १५(१) (ग) अन्तर्गत अनुसन्धान र कारबाही अघि बढाइएको जनाइएको छ । पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जोहोर बारुको सेतिया त्रोपिका अध्यागमन हिरासत केन्द्रमा राखिएको अध्यागमन विभागले जनाएको छ ।एजेन्सीको सहयोगमा
प्रतिक्रिया 0