भद्रपुर ।
जिल्ला प्रशासन कार्यालय भद्रपुर झापाले बैंक तथा वित्तीय संस्थाका साथै व्यापारिक प्रतिष्ठान र सपिङ मल/कम्प्लेक्सहरूलाई शान्ति सुरक्षामा ध्यान दिन आग्रह गरेको छ ।
चाडपर्वको समयमा बजार तथा वित्तीय क्षेत्रहरूमा सर्वसाधारणको आवागमन र आर्थिक कारोबार बढ्ने हुँदा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीहरूलाई मध्यनजर गर्दै शान्ति सुरक्षालाई भरपर्दो बनाउन तथा सेवा प्रवाहलाई सहज र सुरक्षित राख्न प्रशासनले एक सूचना जारी गर्दै आग्रह गरेको हो ।
झापा जिल्लास्थित सम्पूर्ण बैंक तथा वित्तीय संस्था, व्यापारिक प्रतिष्ठान एवं सपिङ मल/व्यावसायिक कम्प्लेक्सहरूले आ–आफ्नो संस्थाको आन्तरिक सुरक्षा व्यवस्था सुदृढ बनाउन निम्न बमोजिमको व्यवस्था मिलाउन निर्देशन/सार्वजनिक सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
- यस्ता छन् जारी निर्देशन/सार्वजनिक सूचना
१. बैंक तथा वित्तीय संस्था, एटीएम बुथ, व्यापारिक प्रतिष्ठान र सपिङ मल कम्प्लेक्सहरूमा खटिने सुरक्षा गार्डहरूलाई उच्च सतर्कतामा राख्ने र चौबीसै घण्टा नियमित पालोपहरा (सिफ्ट ड्युटी) तथा निगरानीको प्रभावकारी व्यवस्था मिलाउने ।
२. बैंक तथा वित्तीय संस्थाको कार्यालय परिसर, भल्ट रुम र एटीएम बुथका साथै व्यापारिक प्रतिष्ठान, सपिङ मल र कम्प्लेक्सका मुख्य प्रवेशद्वार, पार्किङ क्षेत्र एवं भीडभाड हुने स्थानहरूमा जडान गरिएका सिसी क्यामेराहरू चौबीसै घण्टा चालु र रेकर्डिङ हुने गरी दुरुस्त अवस्थामा राख्ने। क्यामेरामा कुनै प्राविधिक समस्या देखिएमा तत्काल मर्मत सम्भार गर्ने ।
३. चाडपर्वको बिदाको अवधिभर सर्वसाधारणलाई नगद कारोबारमा कुनै किसिमको असुविधा हुन नदिन बैंक तथा वित्तीय संस्थाहरूले एटीएम बुथहरूमा पर्याप्त नगद मौज्दात राख्ने र मेसिनहरू चौबीसै घण्टा सुचारु रहने व्यवस्था मिलाउने ।
४. बैंक, वित्तीय संस्था, व्यापारिक प्रतिष्ठान वा सपिङ मल परिसरमा कुनै ’शंकास्पद व्यक्ति, वस्तु वा गतिविधि देखिएमा तथा आकस्मिक सुरक्षा सहयोग आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा जिल्लास्थित सुरक्षा निकायहरूसँग निरन्तर समन्वय र सम्पर्कमा रहने ।
५. चाडपर्व तथा बिदाको समयमा एटीएममा प्राविधिक समस्या आएमा वा व्यापारिक प्रतिष्ठान र सपिङ मलहरूमा आकस्मिक सुरक्षा समन्वय गर्नुपरेमा तत्काल सम्पर्क गर्न सकिने गरी जिम्मेवार व्यक्ति (फोकल पर्सन) तोकी निजको नाम र सम्पर्क नम्बर नजिकको प्रहरी कार्यालयमा उपलब्ध गराउने ।
६. सपिङ मल तथा ठूला व्यापारिक कम्प्लेक्सहरूमा चाडपर्वको समयमा हुन सक्ने भीडभाडलाई व्यवस्थित गर्ने, पार्किङ र प्रवेशद्वारमा आवश्यक सुरक्षा जाँचको प्रबन्ध मिलाउने तथा आकस्मिक सुरक्षा सतर्कता अपनाउने ।

प्रतिक्रिया 0