झापा ।

वैदेशिक रोजगार विभागमा उजुरी वढेसँगै कामको चाप वढेको छ ।  सरकारले कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन हुने निर्णय गरेको छ । सोही अनुसार अपराह्न साढे ३ बजेपछि कर्मचारीहरू घर फर्किने तरखर गर्छन् । तर, वैदेशिक रोजगार विभाग ताहाचलमा भने कात्तिक १५ गते वा त्यसभन्दा अघिकै अवस्था देखिन्छ ।

विभागमा व्यक्तिगत ठगीका अभियुक्त बढेका कारण साँझ अबेरसम्म कार्यालय सञ्चालन गर्नुपर्ने अवस्था आएको छ । विभागको मुद्दा तथा अनुसन्धान शाखाका अनुसार हाल दैनिक १८ देखि २२ जना प्रतिवादीको बयान तथा म्याद थप गर्नुपर्ने बाध्यता छ । विभागमा अभियुक्तको संख्या धेरै भएपनि उनीहरूलाई म्याद थपका लागि पुर्‍याउन आवश्यक सवारीसाधनको अपर्याप्तता झेल्दै आएको शाखाको भनाइ छ ।

विभागले उजुरी फछ्र्योटको कामलाई उच्च प्राथमिकतामा राखेको छ । उजुरी फरफारकका लागि वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरीलाई मेलमिलापसम्बन्धी कार्यविधिअनुसार पक्षहरूबीच मेलमिलापको माध्यमबाट घटाउने नीति लिएको बताएको छ । तर, व्यक्तिगत उजुरी दर्ताको क्रम नरोकिएका कारण उजुरीको चाप रहेको बताइएको छ । वैदेशिक रोजगारी सम्बन्धी झन्डै २८ हजारभन्दा बढी उजुरी रहेको विभागको भनाइ छ ।

यसैबीच, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ठगी गरेको उजुरीका आधारमा तीन जनालाई पक्राउ गरेको छ । अस्ट्रेलिया र रुसमा आकर्षक तलबको प्रलोभन देखाएर ठुलो रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

अस्ट्रेलिया पठाउने भन्दै १ लाख रुपैयाँ ठगी गरेको उजुरीका आधारमा रोल्पाका रबिन डाँगी, रुस पठाउने भन्दै ७ लाख ५० हजार रुपैयाँ ठगी गरेको उजुरीका आधारमा रबिन थापा क्षेत्री र रुस पठाउने भन्दै ८ लाख ७५ हजार रुपैयाँ ठगी गरेको आरोपमा दुर्गा थापा क्षेत्रीलाई पक्राउ गरिएको छ । वैदेशिक रोजगार विभागले उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार न्यायाधिकरणबाट म्याद थप गरेको छ ।