सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा बडादशैं फुलपातीको अवसर पारेर आइतवार एक दिने झापा जिल्ला स्तरीय सन्थाल मेला भएको छ । 

सन्थाल समुदायको संस्कृति संरक्षण एवम् प्रर्वधन गर्ने उदेश्यले कनकाई खेलकुद प्रतिष्ठानको आयोजना तथा कनकाई नगरपालिकाको प्रमुख प्रायोजनमा सन्थाल नृत्य प्रतियोगिता गरिएको हो । मेलामा  जिल्लाभरका १८ वटा सन्थाल समुहले आफ्नो भेषभूषा, संस्कृति झल्काउने नृत्य प्रस्तुत गरेका थिए । 

उनीहरुले प्रस्तुत गरेका नृत्यका आधारमा पुरस्कृत गर्न आयोजक समितिले मेलामा निर्णायकको भुमिकामा सन्थाल समूहबाटै दुई जना र अन्य तीन जना गरी पाँच सदस्यीय निर्णायक समिति टोली गठन गरेको कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष छवि थपलियाले जानकारी दिए । 

प्रतिष्ठानले सन्थाल संस्कृतिको समेत संरक्षण गर्ने उदेश्यले प्रतिष्ठानको वार्षिक कार्यक्रमका रुपमा प्रत्येक वर्ष वडादशैंको फुलपातीका दिन कनकाई सन्थाल मेलाको आयोजना गरिने अध्यक्ष थपलियाले बताएका छन् । प्रतिष्ठान लोप हुँदै गएको सन्थाल समुदायको भेषभुषा, रहनसहन, भाषा, संस्कृति संरक्षणका लागि नृत्य प्रतियोगिता गरेको जनाएको छ । 

प्रतिष्ठानले अतिरिक्त क्रियाकलापमा तथा विभिन्न गतिविधि गर्दै आएको जनाउँदै अध्यक्ष थपलियाले सोही अनुरुप लोपोन्मुख सन्थाल संस्कृतिको जगेर्ना गर्ने लक्ष्यका साथ नृत्य प्रतियोगिता आयोजना गरेको बताए । 

प्रतियोगितामा प्रथम हुनेले नगद ३१ हजार, द्वितीयले २५ हजार, तृतीयले नगद २१ हजार, चौथोले नगद १८ हजार र पाँचौंले १५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका थिए भने अन्य सहभागी समूहलाई प्रोत्साहन स्वरुप सान्त्वना पुरस्कारसमेत प्रदान गरिएको थियो । प्रतियोगितामा सहभागीहरुको भेषभुषा, नृत्य प्रस्तुती, सहभागी संख्यालगायतको आधारमा मुल्यांकन गरिने जनाइएको छ ।

प्रतिष्ठानका अध्यक्ष छबि थपलियाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । स्वागत प्रतिष्ठानका उपाध्यक्ष अम्बिका खरेलले गरेको कार्यक्रको सञ्चालन सचिव मान्ता खरेलले गरेकी थिइन् । 

सोही कार्यक्रममा सहभागी सन्थाल समुदायका अगुवाहरुले अशिक्षा, गरिबी र जनसंख्या कम भएका कारण हेपेर सतार भन्ने गरेको बताउँदै सतार नभएर सन्थाल भएको बताएका छन् । उनीहरुले सरकारलाई समेत आफुहरु सन्थाल भएकाले सन्थाल समुदाय नामकरण गर्न ध्यानाकर्षण गराएको बताएका छन् ।  

santhal