मेचीनगर । 

झापाको चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १८औँ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । साधारण सभाले उपभोक्ताले तिर्दै आएको खानेपानीको महसुल घटाउने निर्णय गरेको छ। नयाँ दरअनुसार आगामी मंसिर महिनादेखि उपभोक्ताले घटेको महसुल तिर्नुपर्नेछ ।

संस्थाका अध्यक्ष राजन चिमरियाले सभामा प्रस्तुत गरेको प्रतिवेदनमा समेटिएको महसुल घटाउने प्रस्ताव बन्द सत्रले पारित गरेसँगै उपभोक्तालाई मासिक शुल्कमा राहत पुग्ने भएको हो ।

साधारण सभाको निर्णयअनुसार मासिक १० हजार लिटरसम्म पानी उपभोग गर्ने उपभोक्ताले यसअघि तिर्दै आएको २०० रुपैयाँको सट्टा अब १७५ रुपैयाँ मात्र तिर्नुपर्नेछ । त्यस्तै, ११ हजारदेखि २० हजार लिटरसम्म पानी खपत गर्ने उपभोक्ताले प्रतिहजार लिटर ३२ रुपैयाँका दरले तिर्दै आएकोमा अब ३० रुपैयाँ तिर्नुपर्नेछ ।

यसैगरी, मासिक २१ हजारदेखि ३० हजार लिटरसम्म पानी खपत गर्ने उपभोक्ताका लागि प्रतिहजार लिटर महसुल ४२ रुपैयाँबाट घटाएर ४० रुपैयाँ कायम गरिएको छ । ३१ हजार लिटरभन्दा बढी पानी खपत गर्ने उपभोक्ताले प्रतिहजार लिटर ६५ रुपैयाँ तिर्दै आएकोमा अब ६० रुपैयाँ मात्र तिर्नुपर्नेछ । आम उपभोक्तालाई मासिक शुल्कमा राहत दिने उद्देश्यले महसुल घटाउने निर्णय गरिएको संस्थाका अध्यक्ष चिमरियाले बताए ।

साधारण सभाको उद्घाटन गर्दै कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलचन पाठकले खानेपानी आयोजना विस्तारका लागि प्रदेश सरकारले सहयोगी भूमिका खेल्ने बताए । उनले खानेपानीको पहुँच विस्तार तथा उपभोक्तालाई सहज सेवा उपलब्ध गराउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा सस्थाका जग्गादातालाई सम्मान गरिएको थियो । जग्गादाता इन्द्रबहादुर विष्ट, विद्याकुमारी तिम्सिना, राममाया नेम्वाङ, मनु लिम्बू, घनश्याम चिमरिया, श्रीप्रसाद थापा, रामनारायण यादव, मनिषा लिम्बू, जगनाथ भट्टराई, जानुकादेवी अर्याललाई सम्मान गरिएको थियो । 

कार्यक्रममा मेचीनगर वडा नम्बर ११ का वडाध्यक्ष रूद् डाँगी, खानेपानी डिभिजन कार्यालय झापाका प्रमुख सुमन भट्टराई, काँकरभिट्टा खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकी, जगनाथ भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साधारण सभामा मेचीनगर–१२ का वडाध्यक्ष तथा संस्थाका पूर्वअध्यक्ष मधुसुधन निरौला, धुलाबारी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष धनकाजी खत्री, संस्थाका पूर्वअध्यक्ष शरद शिवाकोटीलगायतको उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष चिमरियाको सभापतित्वमा सम्पन्न सभामा कोषाध्यक्ष साउन मेचे (बादल) ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाकी उपाध्यक्ष मैया कार्कीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव प्रेमराज घिमिरेले गरेका थिए । साधारण सभा संस्थाकै सभाहलमा सम्पन्न भएको हो ।