झापा । 

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ स्थित शिवगञ्ज बजारमा श्रृङ्खलाबद्ध रुपमा ४ वटा सटर फोडेर चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

गत जेठ ३ गते रातीको समयमा चोरी भएको गुनासो ईलाका प्रहरी कार्यालय शिवगञ्जमा आएपछि प्रहरीले गहन रुपमा अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न शिवसताक्षी–५ आमबाडीका ५६ बर्षिय सविलाल खवासलाई प्रहरीले पक्राउ गरेको हो । 

खवासलाई चोरी भएको सामानहरु, नगद र चोरी भएको अवस्थामा प्रयोग भएको फलामको रड, झोला र चोरी गर्दा प्रयोग भएको कपडासहित उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । 

पक्राउपछि झापा जिल्ला अदालतबाट चोरी मुद्दामा दिन ७ म्याद थप गरी ईलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।