बिर्तामोड । 

बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ समिति चयनका लागि मतदान शुरु भएको छ । संस्थाको मुख्य कार्यालय बिर्तामोड–५ स्थित मतदान केन्द्रमा  आज बिहान ८ बजेदेखि मतदान शुरु भएको हो । 

मतदान केन्द्रमा २२ वटा बुथ निर्माण गरिएको छ । संस्थाले आठ हजार ७ सय ५६ जना मतदाता प्रमाणित गरेको छ । मतदान बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ ।

आसन्न निर्वाचनका लागि दुई पक्षीय प्रतिस्पर्धा हुँदैछ । स्वतन्त्र प्रगतिशील तर्फबाट देबेन्द्र सिटौलाको नेतृत्व र लोकतान्त्रिक राष्ट्रवादी प्यानलको तर्फबाट मेघराज बास्तोलाको नेतृत्वमा उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवारका रुपमा कोषाध्यक्ष पदमा केशव श्रेष्ठ र खुला सदस्य पदमा बलराम सिटौला (राम) ले उम्मेदवारी दिएका छन् । चार बर्से कार्यकालका लागि हुने चुनावमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र पाँचजना सदस्य निर्वाचित हुने प्रावधान छ ।

संस्थाले निर्वाचनलाई लक्षित गरेर क्यूआरसहितको डिजिटल परिचयपत्र बनाएको छ । निर्वाचनमा मतदान गर्न सो डिजिटल परिचयपत्र अनिवार्य गरिएको छ । कारणवश नभए पुरानो हस्तलिखित परिचयपत्रका साथमा नागरिकताको प्रमाणपत्र चाहिने संस्थाले जनाएको छ ।