• चन्द्र बस्नेत

कनकाई। 

केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण झापाका चारवटा पालिकाका विद्यालयहरुमा आजदेखि बिदा दिइएको छ । कचनकवल, मेचीनगर, भद्रपुर र हल्दिबारीले आफ्ना पालिकाभित्रका विद्यालयहरुमा आजदेखि बिदा दिएका हुन् । कचनकवल र हल्दिवारीले पाँच दिनसम्म तथा मेचीनगर र भद्रपुरले आज र भोलि दुई दिनसम्म विदा दिएका हुन् ।

त्यस्तै, कनकाई, बिर्तामोड, शिवशतासी, बाह्रदशी ,गौरादह र झापा गाउँपालिकाले भोलिदेखि बिदा दिने निर्णय गरेका छन् । अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा समेत असर पर्न थालेकोले आगामी बर्खे बिदाबाट कट्टा हुनेगरी विद्यालय बिदा दिइएको पालिकाहरुले जनाएका छन् ।

कनकाईका विद्यालयहरुको समय परिवर्तन हुनसक्ने नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताईरहेका बेला नगरको शिक्षा शाखा बाट भने नगरका सम्पुर्ण निजि तथा सामुदायिक विद्यालयहरुमा भोलि एकदिन मात्रै बिदा दिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद मिश्रले जानकारी दिए।

केही दिनयता तापक्रममा अत्यधिक बृद्धि भएर गर्मी बढेपछि कनकाई नगरले विद्यालयको समय परिवर्तन गर्नेकी केही दिन छुट्टी नै गर्ने हो कि भन्ने विषयमा अनौपचारिक छलफल चलिरहेका बेला एक्कासि एकदिनका लागि मात्रै विद्यालयहरुमा बिदा दिएको छ। बिदाकै विषयमा छलफल गर्न भोलि शुक्रबार नगरको शिक्षा शाखाले बैठक बोलाएको थियो। आज पनि नगरको शिक्षा शाखाले नगरभरिका सामुदायिक तथा निजी विध्यालयका शिक्षकबिच छलफल चलाएको थियो ।

उता, मोरङ र सुनसरीका स्थानीय तहहरुले धमाधम विद्यालय बन्द गर्न थालेका छन् । चर्को घाम र अत्यधिक गर्मीमा विद्यार्थीहरु विद्यालय पुग्न मुश्किल भएको र कक्षा कोठामा बसेर पढ्नसक्ने अवस्था समेत नभएको भन्दै विद्यालयहरु बन्द गर्न थालिएको हो । विराटनगर उपमहानगरपालिकाकाले गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै बिहीबार र शुक्रबार महानगरपालिका भित्रका सबै विद्यालयमा बिदा दिएको छ ।

बुधबार विराटनगरको तापक्रम ४१ डिग्री सेल्सियस पुगेको थियो । यस्तै सुनसरीका तीन वटा स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । इनरुवा नगरपालिकाले बिहीबारदेखि लागू हुने गरी जेठ २४ गतेसम्मका लागि एक साताको बिदा दिएको छ ।