बिर्तामोड ।
मेडीकल व्यवसायी दुर्गा प्रसाईलाई मोसो दलेको बिरोधमा समर्थकहरुले झापाको बिर्तामोडमा प्रदर्शन गरेका छन् । राजधानीको कान्तिपथस्थित होटल यल्लो पगोडमा व्यवसायी प्रसाईँमाथि भएको दुब्र्यवहारको बिरोधमा समर्थकले बिर्तामोडमा बिरोध प्रदर्शन गरेका हुन् ।
राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियानका संयोजक तथा बीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालका सञ्चालकसमेत रहेका प्रसाईलाई सोमवार काठमाडौंमा युवाहरुले कालोमोसो दलेका थिए ।

दुर्गा प्रसाई समर्थकहरुले नेपाल आमाको रक्षा गर, नेपाल राष्ट्रको रक्षा गर, आतंकवादी अराजकता मुर्दावाद, देशद्रोही भष्ट्राचारी मुर्दावाद, दुर्गा प्रसाई जिन्दावाद, हाम्रो अभियान जारी छ, अघि बढ दुर्गा दाई, दलीय ज्यादती बन्द गर, पहिचान वादीको मुद्दालाई सम्बोधन गर, सामन्ती हैकमबादी बन्द गरलगायत नरा लगाउँदै बिर्तामोडमा प्रदर्शन गरिएको हो ।
बिर्तामोडको सिटी सेन्टरवाट सुरु भएको र्यालीले बजार परिक्रमा गरेर मुक्तिचोकमा कोणसभामा परिणत भएको थियो । कोण सभामा उनिहरुले सामाजिक अभियन्ता प्रसाईँमाथी गरिएको दुब्र्यवहारको चर्काे बिरोध गरेका छन् । उनिहरुले दोसीको पहिचान भइसकेकाले अबिलम्ब पक्राउ गरी शसक्त कारबाही गर्न माग गरेका छन् । यदि राज्यले कारवाही नगरे जनकारवाही गरिने चेतावनी दिएका छन् ।
सोमवार उनीमाथि मोसो दलिएको थियो भने शरीरको कपडा पनि च्यातिएको थियो । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । प्रसाईले लघुबित्त, सहकारी र बैंकका कर्मचारी पैसा माग्न आए कालोमोसो दल्ने चेतावनी दिदै आएका छन् ।


















