बिर्तामोड ।
झापामा अनलाइन सञ्चार माध्यमहरु संगठित हुने भएका छन् । अनलाइन सञ्चार माध्यमलाई व्यवस्थित र एकरुपता बनाएर सूचना प्रवाह गर्ने उद्देश्यका साथ ‘अनलाइन पत्रकार मञ्च झापा’ गठनका लागि पत्रकार सुरेन्द्र भण्डारीको संयोजकत्वमा सम्मेलन आयोजक समिति गठन गरिएको छ ।
बिर्तामोडमा शनिवार(आज) भएको अनलाइन सञ्चार माध्यमका पत्रकारहरुको भेलाले भण्डारीको संयोजकत्वमा झापा भरका अनलाइन सञ्चारमाध्यमका पत्रकारहरुलाई एकताबद्ध गर्न सम्मेलन आयोजक समिति गठन गर्ने निर्णय गरेको हो ।
झापाका सबै अनलाईनहरुलाई एकताबद्ध बनाउँदै अगाडि बढ्ने उद्देश्यका साथ दुई महिना भित्र जिल्ला अधिवेशन गर्ने निर्णय गर्दै भण्डारीको संयोजकत्वमा समिति गठन गरिएको हो ।
समितिको सदस्यहरुमा लीलाराज झापाली पत्रकार विनोद पाण्डे, नरेन्द्र ढकाल , उद्धव पुरी, राम प्रसाद निरौला, सन्तोष न्यौपाने, केशव चापागाई, राजन साम्पाङ्ग, जनक न्यौपाने र मनोज तिवारी रहेका छन् ।
अनलाईन सञ्चार माध्यमलाई व्यवस्थित गर्दै पत्रपत्रिका सरह अनलाइन सञ्चार माध्यमलाई समेत लोक कल्याणकारी विज्ञापन उपलब्ध गराइनु पर्ने, स्थानीय तहले एजेन्सी मार्फत उपलब्ध गराउने विज्ञापन झापाका सबै ‘अनलाईन मिडिया’लाई स्थानीय तहले नै समानुपातिक रुपमा वितरण गर्नुपर्ने भन्दै संयोजक भण्डारीले अनलाइन सञ्चार माध्यमलाई भरपर्दाे र विश्वसनीय बनाउँदै सबै पत्रकारहरुको क्षमता अभिबृद्धिका कार्यक्रम सञ्चालन गर्न मञ्चले भूमिका निर्वाह गर्ने बताए । संयोजक भण्डारीले मञ्चले आगामी दिनमा सबै क्षेत्र र भूगोल समेट्दै सबैले अपनत्व महसुस गर्ने गरी काम गर्ने बताएका छन् ।


















