सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकास्थित कनकाई सामुदायिक वन उपभोक्ता समूहले २५ औं साधारणसभामा एक जना सञ्चारकर्मीलाई सम्मान गरेको छ । सञ्चार माध्यमबाट वन क्षेत्रको संरक्षण, संबर्धन र विकासमा पु¥याएको योगदानको मूल्याङ्कन गर्दै वन समूहले साधारणसभाको अवसरमा फोटो पत्रकार समिर आलमलाई नगदसहित सम्मान गरेको हो । 

त्यसैगरी, कार्यक्रममा वन समूहका सेवा निवृत्त कार्यालय सचिव गङ्गाप्रसाद ढुङ्गेललाई नगद पुरस्कार र प्रशंसापत्रले सम्मान गरिएको थियो । साथै उत्कृष्ट नतिजा तथा जेहन्दार विद्यार्थीतर्फ उपभोक्ता सदस्यका छोरा छोराछोरीहरूमा कनकाई माध्यमिक विद्यालयका २०७९ को एसईई उत्तीर्ण विद्यार्थी रोमन पराजुली, प्रनिशा उप्रेती र पिपल गौतमलाई प्रोत्साहन स्वरूप नगद पुरस्कार र सम्मान पत्र प्रदान  गरिएको  छ । त्यसैगरी, फरक क्षमता भएका सीतादेवी संग्रौला, दीपक प्रधान, मञ्जु पाण्डे र मनमाया राईलाई पनि सम्मान गरिएको  छ ।

कार्यक्रममा समूहको दशांै समितिको कार्यकाल चलिरहँदा छैटौं पूर्व कार्यसमिति (२०६५–२०७०) का पदाधिकारी र सदस्यहरूलाई सम्मान गरिएको छ । ज्येष्ठ नागरिकतर्फ सुदर्शन निरौला, गीतादेवी पोखरेल, देवीप्रसाद खनाल, पवित्रा काफ्ले, पदममाया ढकाल, बमबहादुर खवास, खड्गबहादुर कुमाल र कौशिला गुरुङलाई कपडा र नगदबाट सम्मान गरिएको समूहका कार्यालय सचिव नेत्र भट्टराईले जानकारी दिए ।

नेपालमै तराईको पहिलो सामुदायिक वनको रूपमा २०४८ सालमा स्थापित, २६७.०६ हेक्टर क्षेत्रफल भएको र ३ हजार ४ सय १७ घर धुरी सदस्य रहेको उक्त वन समूहको साधारणसभामा कार्यक्रमको अध्यक्ष समेत रहेका वन समूहका अध्यक्ष ख्यामप्रसाद ओलीले आर्थिक वर्ष २०७९÷०८० मा समूहबाट सञ्चालन गरिएका विभिन्न योजना तथा कार्यक्रमको समीक्षा र  चालू आर्थिक वर्ष २०८०÷२०८१ को नीति तथा कार्यक्रम पेश गरेका थिए । 

त्यसैगरी, वन समूहका आन्तरिक लेखा एवम् बजेट तथा कार्यक्रम निर्माण समितिका सदस्य माधव ढकालले समुहको २०७९ साउन १ गते देखि २०८० असार मसान्तसम्मको लेखा परीक्षण प्रतिवेदन  प्रस्तुत गरेका थिए । ढकालले समुहको २०८०÷२०८१ को अनुमानित आम्दानी तथा  खर्चको वार्षिक कार्यक्रम समेटिएको प्रतिवेदन समेत सभामा पेस गरेका थिए ।

कार्यक्रमको बन्द सत्रमा अध्यक्ष र कोषाध्यक्षबाट प्रस्तुत गरिएको प्रतिवेदनमा व्यापक छलफल  गरेर पारित गरिएका थिए । बन्दसत्रमा माइन्युट लेखनको जिम्मेवारी समुहका कार्यालय सचिव नेत्र भट्टराई सम्हालेका थिए भने माइन्युट प्रमाणीकरण डा. पुण्यप्रसाद पौडेल, भीष्म मैनाली, तीर्थराज खरेल, खेमराज कार्की  र हीराकुमार थापाले गरेका थिए । 

झापा क्षेत्र नं. ४ का सङ्घीय सभासद् एल.पी. साँवाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संविधासभा सदस्य अम्बिका राजवंशी, पूर्व मन्त्री तथा एमाले नेता हीराकुमार थापा, कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, कनकाई सब–डिभिजन वन कार्यालयका प्रमुख नथुनी गैवार यादव, सामुदायिक वन उपभोक्ता महासङ्घ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी, नेपाली काङ्ग्रेस कनकाई नगर सचिव रेनुप्रसाद कँडेल, जामुनाबारी सामुदायिक वन समूहका अध्यक्ष ख्यामराज सिटौला लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

 कार्यक्रममा उपाध्यक्ष ललित बहादुर कार्कीले स्वागत मन्तव्य राखेका थिए भने समुहका सचिव मान्तादेवी काफ्ले (खरेल) ले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।