झापा । 

बैंकिङ कसुर मुद्दाका फरार दुई जना प्रतिबादीलाई झापाबाट प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत बिराटनगर इलाम इजलासको बिभिन्न मितिको फैसला अनुसार बैंकिङ कसुर मुद्दामा फरार रहेका एक महिलासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुलाई झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोली, इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी शुक्रवार झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको हो । 

पक्राउ पर्नेमा उच्च अदालत बिराटनगर इलाम इजलास मिति २०७९/०६/०५ गतेको फैसला अनुसार ७ दिन कैद, ७ लाख ५० हजार जरिवाना र ३० हजार रुपैयाँ  पिडित राहत कोषमा जम्मा गर्नु पर्ने फैसला भई फरार रहेका तेह्रथुम साबिक चुहानडाँडा गाविस.वडा नं.१ स्थायी घर भई हाल झापाको बिर्तामोड–२ बस्ने ३१ बर्षिय शम्सेर कन्दंवा रहेका छन् । 

त्यस्तै उच्च अदालत बिराटनगर इलाम इजलास मिति २०८०/०२/३१ गतेको फैसला अनुसार ५ दिन कैद, ५ लाख जरिवाना र २० हजार रुपैयाँ  पिडित राहत कोषमा जम्मा गर्नु पर्ने फैसला भई फरार रहेकी मेचीनगर–१० की ३७ बर्षिया जुनु तिम्सिना रहेकी छिन् ।  

उनीहरुलाई अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।