दुर्गापुर । 

मंगलबारको कठ्याङ्ग्रीदो चिसोमा थरथर काँप्दै विद्यालय गएका झापाका कनकाई १ का बालबालिका विद्यालय पुगेपछि दङ्ग परे । त्यहाँस्थित पशुपति आधारभूत विद्यालयमा अध्ययनरत् बालबालिकाले चिसो छल्ने न्यानो कपडा पाएपछि दङ्ग देखिएका हुन् । बालबालिकालाई चिसो छल्ने र हर्षित तुल्याउने काम भने रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुरले गरेको हो ।

समुदायमा परोपकारी कार्य गर्दै आएको प्रतिष्ठानबाट न्यानो कपडाको रुपमा स्वेटर तथा जुत्ता मोजा पाएर गद्गद् बालबालिका विद्यालय विदापछि फुरुङ्ग गर्दै घर फर्किए । बालबालिकाका लागि न्यानो कपडा बुझ्न आएका तिनका अभिभावक पनि हर्षित देखिन्थे । मजदुरी गरी जीविकोपार्जन गर्दै आएका विपन्न परिवारका ५० बालबालिकाले प्रतिष्ठानबाट सहयोग पाएका हुन् ।

प्रतिष्ठानले बिद्यालयमै पुगेर बिद्यालयमा अध्ययनरत बालबालिकाका लागि न्यानो कपडा वितरण गरेको हो । जाडोमा लागाउने कपडा नहुँदा बालबालिका बिद्यालय आउन समस्या हुने गरेको मध्यनजर गर्दै प्रतिष्ठानले न्यानो कपडा वितरण गरेको जनाएको छ ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामकुमार पोखरेलको अध्यक्षतामा भएको न्यानो कपडा वितरण कार्यक्रममा कनकाई नगरपालिका उप–प्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमको औचित्यमाथि प्रकाश प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओली पारेका थिए ।

pashupati

कार्यक्रमकी प्रमुख अतिथि तथा नगर उपप्रमुख शिवाकोटीले प्रतिष्ठानले गरेको कार्यको प्रशंसा गर्दै नगरले पनि उक्त बिद्यालयका लागि कार्यबिधि बनाएर सहयोग गर्ने आश्वासन दिएकी छिन् । नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरीले बिद्यालय र त्यहाँ अध्ययनरत बिद्यार्थीलाई सवैले सहयोग गर्नुपर्नेमा जोड दिए । स्वागत बिद्यालयका प्रधानाध्यापक खेम कार्कीले गरेका थिए ।

कार्यक्रममा बिद्यालय भवनमा बर्षातको समय टिन पुरानो भएर चुहिने गरेको प्रअ कार्कीले जानकारी गराए । उनका अनुसार अति विपन्न बिद्यार्थीहरु अध्ययनरत उक्त बिद्यालयमा स्थानीय सरकारले छात्रवृत्तिवापत दिएको २२ हजार रुपैयाँमा बिद्यालयले १० हजार रुपैयाँ थपेर बिद्यार्थीका लागि पोशाक खरिद गरेर वितरण गरिएको छ ।

कक्षा नर्सरीदेखि ५ सम्म अध्यापन हुने सो बिद्यालयमा ८३ जना बिद्यार्थी छन् भने बालशिक्षक, शिक्षक तथा कर्मचारी गरेर ६ जना रहेको बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष पोखरेलले जानकारी दिए । कार्यक्रममा कनकाई–१ की वडा सदस्य निर्मला खड्का, बिद्यालयका पूर्व प्रअ गोबिन्द चौहान, पीटीए संयोजक धनबहादुर मिजार, प्रतिष्ठानका सचिव नारायण ओली, कोषाध्यक्ष यज्ञराज गोपाल ओली, सदस्य अनिरुद्र ओली, उर्मिला ओली, ओली वंशका विनिता ओलीलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक तरुण अधिकारीले गरेका थिए ।

प्रतिष्ठानले यसअघि पनि झापाका बिभिन्न स्थानीयतहका बिद्यालयहरुमा न्यानो कपडा, स्टेशनरी लगायतका सामाग्री वितरण गरेको थियो ।