बिर्ताबजार । 

झापा, मोरङ र सुनसरीका कोच राजवंशी समुदायले मनाउँदै आएको भाक्का दिवसको तयारी गरिएको छ । राजवंशी समाज विकास समितिको आयोजनामा पुस २९ गते हुने सातौँ राष्ट्रिय भाक्का दिवस यसपटक झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने भएको छ । 

भाक्का दिवस आयोजक समितिले बुधवार (आज) डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलनको आयोजना गरी तयारीका बारेमा जानकारी दिएको हो । 

कोच राजवंशी समुदायको लोकपरिकार तथा सांस्कृतिक उत्सवका रुपमा रहेको राष्ट्रिय भाक्का दिवस कार्यक्रममा प्रमुख अतिथिका रुपमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती सहभागी हुने समितिका अध्यक्ष अभय राजवंशीले जानकारी दिए । 

bhakka diwas

राजवंशीहरुको भान्साबाट लोप हुँदै गइरहेको मौलिक खाजाको प्रवर्धन, संरक्षण र विकासमा योगदान दिने उद्देश्यले राष्ट्रिय भाक्का दिवस मनाइँदै आएको राजवंशीले जानकारी दिए । 

तराईको जाडोयाममा भाक्का पर्यटनलाई समेत टेवा पुर्याउने र बाह्रै महिना जाडो हुने पहाडी र हिमाली क्षेत्रमा थोरै लगानीमा साना रोजगारका महत्वपूर्ण ढोकाहरु खोलिँदै गएको अध्यक्ष राजवंशीले बताए । भाक्का दिवस दिन यसपटक  १५० जना महिलाहरुले दुई हजार किलोग्राम चामलबाट तयार भएको पिठोबाट भाक्का बनाउने छन् । त्यस्तै एक हजार २ सय कुइटेल शब्जी बनाइने बताइएको छ । 

कार्यक्रममा भारतीय गायिका नीलञ्जना राय, सेलिब्रेटी सेफ सन्तोष शाह पनि आउने आयोजकले जनाएको छ । कार्यक्रममा पाँच सय जना कलाकारहरुको सामुहिक लोक सांस्कृतिक राजवंशी नृत्यको प्रस्तुति रहनेछ भने २५ हजारवढीको सहभागिता रहने अनुमान गरिएको छ । बिर्तामोडमा हुने राष्ट्रिय भाक्का दिवस सम्पन्न गर्न गरिब १२ लाख खर्चको आयोजकले अनुमान गरेको छ । मोरङका कोच समुदाय रहेको केही स्थान र झापाको भद्रपुर र राजगढमा पनि भाक्का दिवसको तयारी गरिएको जनाइएको छ ।